Friday, October 18, 2024

शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्दै कनकाई नगरपालिका

Share


३ फागुन २०८० कनकाई।
झापाको कनकाई नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरले पूर्वाधार विकाससँगै शिक्षक र विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो ।
शिक्षकलाई अब्बल बनाउने शिक्षकबाटै सिकाउने काम भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले जानकारी दिनुभयो । “शिक्षणमा दक्ष बनाउन एउटा विद्यालयबाट अर्को विद्यालय पठाइरहेका छौं, जसले शिक्षण शैलीमा सुधार आउनुका साथै शिक्षकको पनि दक्षता बृद्धि हुन्छ शिक्षा शाखा प्रमुख गौतमले भन्नुभयो ।
विद्यालयमा नयाँ तथा पुराना शिक्षकबीचको अनुभव साटासाट, शिक्षण विधि र शिक्षकभित्रका कमीकमजोरीलाई सुधार्ने किसिमका गतितिविध गरिरहेको उहाँको भनाइ छ । शिक्षकको क्षमता विकास लागि शिक्षककै मागको आधारमा तालिम सञ्चालन गरिररहेको उहाँले सुनाउनुभयो । शिक्षा शाखा प्रमुख गौतमले चालू आर्थिक वर्षमा छ वटा तालिम सञ्चालन गर्ने बताउनुभयो ।
नगरले कक्षा–१ देखि ६ सम्म स्थानीय पाठ्क्रमसमेत लागू गरेको छ । विद्यालयमा व्यवस्थित पाठ्क्रम लागू गर्न अभिभावकको चहना, विद्यार्थीको माग र विज्ञहरुको सल्लाह लिएर निर्माण गरिएको शिक्षा शाखा प्रमुख गौतमले बताउनुभयो ।
विद्यालयमा दक्ष र प्रमाणित योग शिक्षकमार्फत् योग शिक्षा समेत लागू गरिएको छ । प्रत्येक विद्यालयका दुई जना शिक्षकलाई ३५ दिने तालिम दिएर नगरले योग शिक्षा लागू गरेको हो ।विद्यार्थीको क्षमता अभिबृद्धि गर्न सात÷आठ वटा विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन भइरहेको छ । विज्ञान प्रदर्शनी, नृत्य तथा गायन, हाजिरी जवाफ, वादविवाद लगायतका अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिता दिइएको शिक्षा शाखा प्रमुख गौतमको भनाई छ ।
नगरपालिकाले चालू आवमा कक्षा–११ र १२ का कनकाई माविका दुई सय ६८ जना, भृकुटी माविका १४ र आदर्श माविका ६८ जना गरी तीन सय ८० जना विद्यार्थीलाई चार हजारका दरले छात्रवृत्ति समेत उपलब्ध गराएको छ ।
त्यस्तै, सामुदायिक क्याम्पस अन्तरगत कनकाई बहुमुखीका १५ जना र आदर्श क्याम्पसका ५ जना विद्यार्थीलाई रू पाँच हजारका दरले छात्रवृत्ति दिएको छ भने प्राविधिक शिक्षा अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।
सामुदायिक विद्यालयतर्फ बालविकासदेखि कक्षा–८ सम्मका विद्यार्थीका लागि विद्यालय पोशाक खरीदका लागि प्रक्रिया समते अघि बढाइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । स्वयम्सेवक शिक्षक अनुदान कोटामा १४ वटा वितरण गरिएको छ ।
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल नगरले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले शिक्षित र योग्य नागरिक बनाउन सकेमात्र समृद्धिको सपना पुरा हुने बताउनुभयो । “भौतिक विकासले मात्र समृद्ध भइँदैन”, उहाँले भन्नुभयो, “मावन संशासनको पनि विकास हुन जरुरी छ, गुणस्तरीय शिक्षाले मात्र त्यो सम्भव छ ।”
कनकाई नगरपालिकामा सात वटा आधाभूत तह र सात वटा माध्यमिक तह गरी १४ वटा सामुदायिक विद्यालय छन् । गुरुकुल एक र मदरसा दुई वटा छन् । बालविकास केन्द्रको संख्या २८ वटा रहेको छ । जसमध्ये विद्यालयमा आधारित बालविकास केन्द्र २४ र समुदायमा आधारित ४ वटा रहेका छन् । नगरमा एक वटा सामुदायिक सिकाइ केन्द्रसमेत रहेको छ । नगरमा रहेका सामुदायिक विद्यालयको शिक्षकको तहगत दरबन्दी एक सय ७९ रहेको छ । नगरमा संस्थागत विद्यालयको संख्या भने २३ वटा रहेको छ ।

साक्षरता दर ८३.३ प्रतिशत रहेको कनकाई नगरपालिकाको शैक्षिक सत्र २०८० को कक्षा–१ देखि ५ सम्मको खुद भर्ना दर ८५.०६ प्रतिशत रहेको छ । त्यस्तै विद्यार्थी उत्तीर्ण दर ९५.४ रहेको छ ।
त्यस्तै, शैक्षिक सत्र २०८० मा विद्यालय जाने उमेरका बालिबालिको संख्या (इमिस अनुसार) बालशिक्षामा दुई हजार दुई सय २६, कक्षा–१ देखि ५ सम्म पाँच हजार आठ सय १०, कक्षा–६ देखि ८ सम्म तीन हजार चार सय पाँच, कक्षा–९ र १० मा दुई हजार, कक्षा–११ र १२ मा एक हजार तीन सय ३६ गरी १४ हजार आठ सय १३ रहेको छ ।
ती विद्यालयको पूर्वाधार विकास लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रू ५० लाख बजेट समेत विनियोजन गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिनुभयो । त्यस्तै, नगरको समग्र शिक्षा क्षेत्रको विकासका लागि रू दुई करोड पाँच लाख विनियोजन गरिएको छ ।
झापा अनलाईनबाट।

सम्वन्धित

अन्य समाचार