झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा बुधबार आरोप पत्र दायर गरेको हो ।
पालिकाले लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर सडक निर्माणमा भ्रष्टाचार गरेको आयोगको ठहर छ । ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजना निर्माणमा २२ लाख ९ हजार ८२३ रुपैँया ४० पैसा झुठो बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी बढी भुक्तानी दिएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए ।
आयोगले पालिका अध्यक्ष साह, तत्कालिन उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इञ्जिनियर अभिषेक दास र सव–इञ्जिनियर विज्ञान चम्लागाई तथा वडा नम्बर ६ का तत्कालिन वडाध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का मोतिलाल गणेश विरुद्ध कैद र जरिवानाको माग गरेको छ ।
त्यस्तै उपभोक्ता समिति अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवि भनिने शन्तमाया सुब्बा विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको ठहर गर्दै २२ लाख ९ हजार ८२३ रुपैँया ४० पैसा विगो कायम गरी विगो जफत गर्न आयोगले माग गरेको छ ।
अख्तियार द्वारा जारी गरिएको विज्ञाप्ति हेर्नुहोस जस्ताको तेस्तै