४ फागुन २०८० कनकाई।
झापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ ।
रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा आगामी फागुन १४ देखि १६ गते सम्म महोत्सव सञ्चालन हुने आज आयोजित पत्रकार भेटघाटमा आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो ।
कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो।

साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरेलगायतका श्रस्टाहरुको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जकहरू चित्रकार पवन राजवंशी, मुर्तीकार हिम्मतबहादुर नेम्वाङलगायतको कलाको सम्मान र प्रर्वद्धन गर्न, कला, संस्कृति र साहित्य क्षेत्रमा अघि बढ्न खोजी रहेका नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न सघाउन पुर्याउने उद्देश्यले साहित्य महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष कँडेलको भनाई छ ।
महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू महोत्सवमा समावेश हुने भएको छ ।
स्थानीय विविध जात-जातीहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने कनकाई वासी तथा आयोजक सस्था रोटरी क्लब अफ कनकाई सुरुङ्गाको विश्वास छ ।
महोत्सवको पहिलो दिन बिहान ११ बजे सुरुंगा बजारमा प्रभातफेरी गरेर सुरु हुने महोत्सवमा तीन दिन सम्म विभिन्न एक दर्जन भन्दा बढी कार्यक्रमहरू तय गरिएको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
आयोजकले प्रभातफेरी पछि दैनिक रुपमा फरक फरक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको क्लबका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । महोत्सव अवधिभरमा साहित्य कोष्टी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजक संस्थाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि भने तिन दिननै सञ्चालन हुने संस्थाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
अन्य कार्यक्रमहरूमा शिक्षक स्वं साहित्य सर्जकहरूका लागि कविता लेख प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहका ले भागलिन सक्ने गरि कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्र स्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू रहेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
साहित्य महोत्सवमा अग्रज साहित्यकारहरु तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको कार्यक्रममा उपस्थित रहने आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
महोत्सव सञ्चालनका लागि रोटरी क्लब अफ सुरुङ्गाका सदस्य अखिलकुमार कोइरालाको संयोजकत्वमा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाईँ, प्रेसिडेन्ट इलेक्ट लुबराज उप्रेती, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्ली मैनाली, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीका जमरकट्टेल र रोट्याक्ट क्लब अफ कनकाई सुरुङ्गाका सचिव दिवाकर तिवारी रहेको मुल समिति पनि बनाइएको छ।
त्यसै गरी आर्थिक उपसमितिमा लुवराज उप्रेती, प्रचारप्रसारमा रामप्रसाद निरौला, अतिथि सत्कारमा सरला दाहाल (पोखरेल) अतिथि व्यवस्थापनमा युवा व्यवसायी तथा समाजसेवी ख्याम ओली, स्थानीय साहित्यकार समन्वयमा शिक्षाविद डिल्ली मैनाली, जिल्लाका साहित्यकार समन्वयमा खेमप्रसाद प्रसाईँ, स्थानीय संघसंस्था सम्पर्क र समन्वयमा कमलप्रसाद कट्टेल, विद्यालय कलेज सम्पर्कमा सुशील कुमार श्रेष्ठ, पुस्तक डोनेसनमा शिवकुमार गिरी, स्टेज–स्टल–साउन्ड व्यवस्थापनमा दिवाकर तिवारी, स्वयंसेवक परिचालनमा प्रतापबाबु जमरकट्टेल, तालिम प्रशिक्षण व्यवस्थापनमा टीकाप्रसाद जमरकट्टेल, प्रकाशनतर्फ युवा व्यवसायी तथा समाजसेवी कुमारमणि पोखरेल, चिया–खाजा–पानी व्यवस्थापनमा अर्जुन बोहोरा, प्रभातफेरी संयोजकमा मेनुका उप्रेती र कार्यक्रम उद्घोषण व्यवस्थापनतर्फ रोटरी क्लब अफ कनकाई सुरुङ्गाकी सचिव विनिता मैनाली संयोजक रहेको विभिन्न उप-समिति निर्माण गरि तयारीलाई तिव्रता पारिएको छ।
महोत्सव सम्पन्न गर्न करीव २५ लाख ४५ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । उक्त खर्च व्यवस्थापनको लागि प्रदेश, स्थानीय सरकार, संघसंस्था र व्यवसयीक प्रतिष्ठानहरू मुख्य श्रोत हुने आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।उहाँले महोत्सवमा जाने सहभागीहरूलाई कुनैपनी प्रवेश शुल्क नलाग्ने पनि स्पष्ट पार्नुभयो।