Friday, October 11, 2024

बिर्तामोडका व्यापारीले मार्‍यो व्यापारीकै पसलमा छापा, अवैध मोबाइल बरामद

Share

पटक–पटक सचेत गराइएका झापा बिर्तामोडमा मोबाइल व्यवसायी शङ्कर वंशललाई फेरि अन्य व्यापारीहरूले बुधवार नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

अवैध रुपमा भारतबाट मोबाइल ल्याएर विक्री गर्दै आएका वंशललाई बुधवार बिर्तामोडका अन्य मोबाइल व्यापारीले प्रहरी बोलाएर बुझाएको मोबाइल एसोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाले जानकारी दिए ।

वंशलले सञ्चालन गर्दै आएको श्री श्याम मोबाइलबाट ३० थान मोबाइल भन्सार नभएको भेटिएको निरौलाले बताए ।यसअघि पनि ५० लाख बराबरको अवैध मोबाइल बरामद गरिएको थियो ।

सोही मुद्दा चलिरहेको बेला फेरि अवैध मोबाइल धन्दा गरिरहेको अन्य व्यापारीको आरोप छ ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु गर्दा समेत वंशलले भारतबाट मोबाइल ल्याएर विक्री गर्नुले व्यापारीहरू चकित भएका छन् ।

‘भारतबाट भन्सार नतिरी ल्याइएको मोबाइल नेपालमा नचल्ने बनाइएको थियो,’ अध्यक्ष निरौलाले भने, ‘सरकारले उक्त प्रणाली प्रभावकारी लागु गर्न नसकेको यो घटनाले देखिएको छ’ ।विभिन्न ब्राण्डेड कम्पनीका मोबाइलहरू अवैध रुपमा आयात गरेर विक्री गरिरहेको थाहा पाएपछि मोबाइल व्यवसायीहरूले निगरानी बढाएका थिए ।

निगरानी बढाएकै कारण वंशल फेला परेका हुन् । उनको पसलबाट ६ देखि ७ लाखको मोबाइल बरामद भएको व्यवसायीहरूले जानकारी दिएका छन् । अवैध मोबाइलसँगै डिलरले दिने सीमित कोटाभन्दा धेरै मोबाइल भेटिएको भनाई छ ।बिर्तामोड नगरपालिकाभित्र करिब १५० साना ठुला व्यवसायी रहेको बताइएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीपछि अवैध आयात रोकिने विश्वास गरेका बिर्तामोडका व्यवसायीले आश्चर्य प्रकट गरेका छन् ।

सम्वन्धित

अन्य समाचार