Sunday, January 19, 2025

छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तिब्र उच्च पदस्थ व्यक्तित्वहरुद्वारा सहयोगको आश्वासन

Share


१ फागुन २०८०कनकाई
झापा गोल्ड कपको छैटौँ संस्करणको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरुले प्रतियोगिताको सफलताका लागि सहयोगको आश्वासन दिन सुरु गरेका छन् ।

सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री केपी शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उद्योगमन्त्री रमेश रिजाल, काठमाडौँ नगरप्रमुख बालेन्द्र शाह लगायतले प्रतियोगिताको शुभेच्छा व्यक्त गरेका छन् ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, महासचिव गजेन्द्र पौडेलसहितका पदाधिकारीहरुले सभामुख घिमिरे, पूर्वप्रधानमन्त्री शर्मा, महानगरप्रमुख शाह, मन्त्री किराती, मन्त्री रिजाल लगायतलाई भेटेर गोल्ड कपको प्रस्तावनापत्र समेत प्रदान गर्नुभएको छ।
मोफसलको प्रतिष्ठित प्रतियोगिताका रुपमा हेरिने झापा गोल्ड कप सञ्चालनका लागि आवश्यक सहयोगका लागि सहजीकरण गरिदिन नेताहरुले आश्वासन दिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
झापा गोल्ड कपका पदाधिकारीहरुले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेट गरेका छन् ।
आगामी फागुन १९ गतेदेखि हुने दर्शकको सर्वाधिक उपस्थिति रहने यो प्रतियोगिताको छैटौँ संस्करणको मुख्य प्रायोजक यती ब्रुअरीको उत्पादन अर्ना रहेको बताएको छ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार हिमाल खरेलले जानकारी दिनुभयो । गोल्डकप सम्पन्न गर्न करिब एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
टिमहरु निश्चित भएपछि केही दिनमै खेलतालिका सार्वजनिक गरिने गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार खरेलले जानकारी दिनुभयो ।
यसैबीच ।

झापा गोल्ड कपले खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ ।

आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

गोल्ड कप र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौँबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

खेलाडी, रेफ्री, अफिसियल, प्राविधिक र स्वयमसेवकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी झापा गोल्ड कपले दुर्घटना बीमा गरेको हो ।

सम्झतापत्रमा नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले हस्ताक्षर गर्नुभएको छ।

अधिकृत पोखरेलका अनुसार खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ र मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा कम्पनीका विभागीय प्रमुख अनल राउत र गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल साक्षीका रुपमा रहनुभएको छ।

यसैबीच, बीमा गर्दा लागेको सम्पूर्ण खर्चको प्रायोजन कम्पनीले व्यहोरेको छ । कम्पनीले तीन सयजनाको बीमा खर्च आफैँ व्यहोर्ने गरी सम्झौता भएको हो ।

त्यस्तै, प्रतियोगिताको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी रहनेछ । कम्पनीले यसअघि पाँचौँ संस्करणको प्रतियोगितामा पनि खेलाडी तथा अफिसियलको बीमा गरिदिएको गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार खरेलले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार