Friday, October 18, 2024

स्मार्टनगर १ : झापाको कनकाई नगरपालिका डिजिटल र स्मार्ट बन्यो

Share

झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो कानमा प्रतिध्वनित भइरहेका हुन सक्छन् । तर स्मार्ट नगर कसरी बनाउने भन्नेमा सबै उम्मेदवारहरु सायद जानकार पनि थिएनन् ।

‘सुकिलो बाटो, बाटोको दुवैतर्फ रंगीचंगी फूलहरु, घरहरुमा एकै प्रकारको रंगरोगन आदिबाट स्मार्ट नगर बनाइनेछ’ एकजना उम्मेदवारको अन्तरवार्ताको यो एक अंशले पनि उहाँको परिकल्पना अर्कै बुझाउँछ । सुन्दर बनाउँछौं भन्ने शब्दलाई छोटोमा स्मार्ट भनिएको हुनसक्छ । तर स्मार्ट शब्दले डिजिटल प्रविधिसँग सामिप्यता राखेको कतिपयलाई जानकारी थिएन र छैन पनि ।

तर ‘स्मार्टनगर’को वास्तविक कार्यान्वयन झापाको कनकाई नगरपालिकाले गरेको छ । नेपालका ७५३ पालिकामध्ये कनकाई नगरपालिकाले प्रवाह गर्ने सेवाहरु अनलाइन प्रविधिबाट गर्ने सम्भवतः नेपालकै पहिलो हो । ‘चालू आर्थिक वर्षको पहिलो महिना २०७९ साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सेवा उपभोग गरी २०७९ फागुन मसान्तसम्ममा ६ हजार ८५२ सेवाग्राही लाभान्वित भएका’ नगरपालिकाको आईटी शाखा प्रमुख खगेन्द्र मिश्र बताउँछन् ।

सबै मानिसमा कामको ब्यस्तता बढेको मात्रै होइन, समयको महत्व पनि बुझ्न थालेका नगरबासी सेवाग्राहीलाई लक्षित गरी कनकाई नगरपालिकाले डिजिटल सेवा प्रवाह सुरु गरेको हो । सेवाग्राहीहरुको लामो भिडभाड, कागजपत्रको थाक अनि समयको बचत सबैलाई डिजिटल कारोबारले राहत पुर्याएको पाइन्छ ।

देशकै पहिलो विद्युत् चुहावट मुक्त नगर अनि बन्द निशेधित नगरको पहिचान बनाएको कनकाईले अब मुलुककै पहिलो स्मार्टनगरको पनि विशेषता थपेको छ । डिजिटल यूगलाई आत्मसाथ गर्दै नगरपालिकाले प्रदान गर्ने अधिकांश सेवाहरु अनलाइनबाटै प्रदान गर्न थालेको हो ।

बजारमा उपलब्ध अनलाइन भुक्तानी सेवा प्रदायकहरु र डिजिटल वालेट तथा एप्लिकेशनहरुसँगको सहकार्यमा नगरपालिकाले कर राजश्व पनि संकलन गरिरहेको छ । कनेक्ट आइपिएस, खल्ती, आइएमई–पे, प्रभु–पे, ई–सेवा आदि डिजिटल सेवाबाट नगरपालिकालाई सिफारिस दस्तुरदेखि कर राजश्व बुझाउन सकिने व्यवस्था मिलाइएको आईटी शाखा प्रमुख मिश्रको भनाई छ ।

नगरपालिकाले सेवाग्राहीको भौतिक भिडभाडलाई न्यूनीकरण गर्न, सेवाग्राहीलाई समयको बचतमा सघाउन तथा नगरपालिकाको कामलाई स्मार्ट बनाउन अनलाइन सेवा प्रवाह गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् । डिजिटल एप्लिकेशनले दिएको सुविधा र सेवालाई प्रचुरमात्रामा उपयोग गर्न, श्रम र समयको बचत गर्न, नगरपालिका धाउने यातायात खर्च जोगाउन एवम् छिटो छरितो र पारदर्शी काम गराउन स्मार्ट नगरको परिकल्पना गरिएको नगरप्रमुख पोखरेल बताउँछन् ।

डिजिटल प्रविधिको उपयोगबाट सेवाग्राहीलाई कार्यालयमा आएर सम्बन्धित शाखामा लाइनमा बस्ने झन्झट हटेको छ भने नगरपालिकामा कागजपत्रको भौतिक प्रयोग पनि घटेको छ । ‘अनलाइनबाट प्रवाह गरिएका सेवाहरुका कागजात सिलसिलेवार ढंगले प्रविष्ट भएका हुन्छन् । खोजेको बेला फाइल पल्टाएर भौतिकरुपमा कागजपत्र खोजेजस्तै सजिलो गरी अनलाइनमा नै भेट्न सकिने गरी रहेको हुन्छ’ आइटी शाखा प्रमुख मिश्र प्रष्ट्याउँछन् । डिजिटल प्रणालीको विकास गर्नका लागि विभिन्न संघ–संस्थाहरु र कम्पनीहरुसँग थप सहकार्य भइरहेको जनाइएको छ ।

घैलाडुब्बा र सुरुङ्गा गाविस समायोजन गरी २०७१ वैशाख २५ गते कनकाई नगरपालिकाको स्थापना भएको हो । ७९ दशमलव १ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र ५३०८८ जनसंख्या रहेको कनकाई नगरपालिकाले पालिकालाई तिर्नु बुझाउनु पर्ने कर राजश्व अनलाइनबाटै संकलन गर्न सकिने बनाएको हो । उक्त करको विजक तथा विवरण अनलाइनमा नै देख्न र प्रिन्ट गर्न मिल्ने बनाइएको छ ।

स्मार्ट नगरको परिकल्पनालाई आइटीका कर्मचारीहरुले सफल कार्यान्वयन गरिरहेका छन् । विभागीय प्रमुख मिश्रका अनुसार अनलाइनको प्रयोग गरी करिब सात हजार निवेदन परेका र तिनको कार्यान्वयन अनलाइनबाटै गरिएको छ ।

कनकाई नगरपालिकाको वडागत तथ्याङ्क अनुसार वडा नं. १ मा १ हजार २४६, वडा नं. २ मा ९३५, वडा नं. ३ मा २ हजार १६ र वडा नं. ४ मा ९६९ वटा सेवा अनलाइन निवेदनबाट कार्यान्वयन गरिएका छन् । यसैगरी वडा नं. ५ मा ६६२, वडा नं. ६ मा ६४४, वडा नं. ७ मा १ हजार २३७, वडा नं. ८ मा ७४७ र वडा नं. ९ मा ५७७ वटा निवेदनहरु सेवाग्राहीले अनलाइनबाट निवेदन गरेका थिए ।

चालू आर्थिक वर्ष अनलाइन सेवाका विषयमा सेवाग्राहीलाई चेतना जागरण गर्न र प्रचारप्रसार गर्न समय छुट्याएका छौं । मुलुकका ७५३ वटा नगरपालिकाहरु मध्ये कनकाई नगरपालिकाले पहिलो अभ्यास थालेकाले यसका लागि जागरण ल्याउन, उपभोक्तालाई प्रयोगमा बानी लगाउन समय लाग्ने आईटी शाखा प्रमुख मिश्र बताउँछन् ।

गत फागुन १० गतेदेखि डिजिटल कनकाई क्याम्पेन सञ्चालन गरिरहेको आइटी शाखाले चैत १ गतेदेखि नगरपालिका भित्रका विद्यालय र क्याम्पसहरुमा गएर विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम दिइरहेको छ । २०७९ साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सेवा उपभोग गरी २०७९ फागुन मसान्तसम्मको ८ महिना अवधिमा ६ हजार ८५२ सेवाग्राही लाभान्वित भएको आईटी शाखा प्रमुख मिश्र तथ्याङ्क सुनाउँछन् ।

योसँगै नगरपालिका कार्यालयमा जनप्रतिनिधि रहेको वा नरहेको, विभिन्न विभागीय कर्मचारीहरु कार्यकक्षमा रहे वा नरहेको थाहा पाउन सजिलो होस् भनेर नगरपालिकाले अनलाइन सूचना पाटी पनि सञ्चालन गरेको छ । यस्तो अनलाइन सूचना पाटी राख्ने काम पनि कनकाई नगरपालिका मुलुकमा नै पहिलो भएको बताइन्छ । अब कोही पनि सेवाग्राहीले नगरपालिका आउनु अघि नगरको अनलाइन सूचना पाटी वेबसाइट हेरेर सम्बन्धित जनप्रतिनिधि वा कर्मचारी कार्यालयमा भए नभएको थाहा पाउन सक्नेछन् ।

नगरपालिका र वडाबाट प्रदान गरिने सेवाहरु मध्ये व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस अनलाइनबाटै दिने व्यवस्था हाल कार्यान्वयनमा छैन । सो कार्यका लागि भौतिक उपस्थिति अनिवार्य रहेको जनाइएको छ । सो बाहेकका अन्य सिफारिसहरु प्रदान गर्न तथा दस्तुर, कर, राजश्व बुझाउन नगरले डिजिटल सुविधा मिलाएको हो ।

सम्वन्धित

अन्य समाचार