Saturday, January 18, 2025

सुरुङ्गाको पाथिभरा चौतारी दक्षिणमा बन्ने भयो बहुप्रयोजनको आकर्षक पार्क

Share


राम निरौला/ झापाको कनकाई— ३ सुरुङ्गा बजारस्थित पाथिभरा चौतारीको दक्षिण तर्फ रहेको खाली जमिनमा बहुप्रयोजनको लागी आकर्षक पार्क बन्ने भएको छ ।


अव्यवस्थित रुपमा रहेको सब्जी बजारलाई खाली गरेर कनकाई नगरपालिकाले सोही क्षेत्रमा बहु प्रयोजनकालागी आवश्यक पर्ने फुलबारी सहितको आकर्षक पार्क निर्माण गर्न सुरु गरिसकेको जनाइएको छ । सो क्षेत्रमा स्थानीय केही ज्येष्ठ नागरिकहरुले नगरपालिकाको अनुमति बेगर निर्माण गर्न सुरु गरेको टहरा कनकाई नगरपालिकाले हटाएको छ । जेष्ठ नागरिकहरुको समेत हितकालागी निर्माण हुन लागेको पार्कमा स्थानीय सरकारको समेत अनुमति बेगर निर्माण भएको टहरा हटाइएको हो ।


स्थानीय सरकारको समेत अनुरोधलाई अटेर गर्दै केही जेष्ठ नागरिकहरुले निर्माण गर्दै आएको अव्यवस्थित किसिमको टिनको टहरा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, कनकाई –३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं.२ का वडाअध्यक्ष बलराम राईसहित जनप्रतिनिधिहरु साथै प्रशासनको समेत सहयोगमा कनकाई नगरपालिकाले हटाएको हो ।
टहरा निर्माणका विषयमा ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका तर्फबाट अध्यक्ष शम्भुप्रसाद पोखरेल र सचिव कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी गर्दै निर्माणका विषयमा संघको कुनै पनि संलग्नता, सहयोग साथै सहकार्य समेत नरहेको जानकारी गराइएको छ । संघका अध्यक्ष पोखरेलले समस्या समाधानकालागी आपसी छलफल र संवाद गर्नु पर्ने कुरामा जोड दिँदै स्थानीय सरकारको अनुमति बेगर भएको कार्यप्रति जेष्ठ नागरिक संघ कनकाईको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।


सोही क्षेत्रमा रहेको तरकारी बजारलाई कनकाई नगरपालिकाले पुर्व पश्चिम लोकमार्गबाट बजार उत्तर तर्फ स्थानान्तरण गरी त्यहाँ खाली रहेको जमिनमा बहु–प्रयोजनकालागी एउटा आकर्षक पार्क निर्माणको अवधारणा अघि सारेको कनकाई नगरपालिका वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँले जानकारी दिए । डेड फुटको प्लम उठाएर घेराबारा गर्ने र बिचमा पेवर्स लगाएर छेउछेउमा स–साना बिरुवा रोप्ने योजना रहेको जानकारी दिँदै वडाअध्यक्ष चम्लागाईँले अबको दुई महिना भित्रमा आकर्षक पार्क निर्माण कार्य सम्पन्न हुने बताए

सम्वन्धित

अन्य समाचार