Wednesday, February 5, 2025

पूर्वमन्त्री बुढाथोकीको शवयात्रामा हजारौको सहभागिता कांग्रेसले तीन दिन झण्डा झुकाउने

Share

२३ माघ २०८० चन्द्र बस्नेत कनकाई ,

नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको शवयात्रामा हजारौले सहभागिता जनाएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट निकालिएको शवयात्रामा हजारौको सहभागिता रहेको हो । त्यसअघि स्व. नेता बुढाथोकीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो ।उहाको शवलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मुख्यमन्त्री उद्धव थापा ,पूर्व महान्यायाधिवक्ता अग्नी खरेल ,कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी , सरिता प्रसाई , अमृत अर्याल, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


त्यस्तै ठूलो संख्यामा विभिन्न पार्टीका नेता कार्यकर्ता , संघ संस्थाका प्रतिनिधि, व्यवसायी , शुभेच्छुक ,सर्वसाधारणहरु श्रद्धाञ्जली दिन उपस्थित रहेका थिए । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , पूर्व मुख्यमन्त्री उद्धव थापा , जिल्ला सभापति देउकुमार थेबेलगायतले बुढाथोकीको पार्थिव शरीरमाथि पार्टीको झन्डा ओढाएका थिए । शवयात्रापछि कन्काई माईमा बुढाथोकीको अन्त्येष्टि सकिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको हो ।उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
यसैबीच
नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो ।आज बिहान बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।
बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान स्थगित गरिएको छ । महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोकेका छन् ।२४ माघमा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ । बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ
यस्तै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वमन्त्री एवं संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

सम्वन्धित

अन्य समाचार