रसुवा : रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ। कात्तिक ८ गते खोलामा हामी फाली बेपत्ता भएका गोसाईकुण्ड गाउँपालिका-१ का अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङ्गको खोजिका लागि गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
कात्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षीय फुर्पु छिरिङ्ग तामाङ्गलाई कुटपिट गरेपछि प्रहरी चौकी थुमनले सोधपुछको लागि ल्याउँदै गर्दा उनी भागेका थिए। मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकल पल्टाएर भागेका उनी खोलामा हामफाली बेपत्ता भएका थिए।
उनको खोजीकार्यको लागि सोमबार सशस्त्र प्रहरी बल नेपाल नंं २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको टोली उद्धारमा खटिएको डीएसपी थापाले बताए।