१४ असोज २०८०कनकाई,चन्द्र बस्नेत /
झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
कनकाई नगरपालिकाको आयोजना, नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजन तथा जेष्ठ नागरिक संघको व्यवस्थापनमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।‘पुस्तौ पुस्तासम्म ज्येष्ठ नागरिकका लागि मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

ज्येष्ठ नागरिक संघ कनकाई नगर अध्यक्ष शम्भुप्रसाद पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि खरेलले ज्येष्ठ नागरिक देशकै गहना भएको बताउनुभयो ।
ज्येष्ठ नागरिकको ज्ञानको पुञ्जको रुपमा रहेको बताउनुहुँदै प्रमुख अतिथि खरेलले ज्येष्ठ नागरिकको ज्ञान–सीपलाई पुस्तान्तरण गर्ने खालका योजनाहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा न ५ का अध्यक्ष कृष्णबहादुर राईले जेष्ठ नागरिकको सम्मान नै तीर्थव्रत रहेकोे भन्दै जेष्ठ नागरिकको हक, हित, संरक्षण र स्म्बद्र्धनका लागि विभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष बलराम राई (प्रताप), वडा नं. ४ का अध्यक्ष रोषन सुवेदी , वडा नं. ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपलिका सदस्य, वडा सदस्य हरिकुमार राई, निर्मला खड्का, दलबहादुर थापा, संगीता ल्वागुन, शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, हरिप्रसाद मिश्र, योजना शाखा प्रमुख जमुना कटुवाल, कर्मचारी विजय पाठक लगायतको उपस्थिति रहेकोे थियो ।
सामाजिक विकास शाखा प्रमुख हरिप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गर्नुभएको थियोे ।
