Thursday, November 21, 2024

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आउनुपर्छ : अर्थमन्त्री

Share

२४ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक पर्ने बताएका छन् । उनले खुकुलो मौद्रिक नीति आउने बित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने समेत बताए ।

आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पोलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पोलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’

अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष भएको भन्दै उनले यसको सञ्चालन गर्न राष्ट्र बैंकलाई जिम्मा दिइएको बताए । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको भन्दै अर्थमन्त्री महतले कतिपय अवस्थामा कार्यान्वयन भएको र कतिपय अवस्थामा हुन बाकी रहेको उल्लेख गरे । यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिइएको उनले बताए ।

राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको मन्त्री डा. महतको भनाइ छ । उनले भने, ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन ।’

व्याजदर महत्वपूर्ण पक्ष भएको भन्दै उनले कति ब्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको बताए । मन्त्री महतले भने, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन । यद्यपि हाम्रा अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ । चलायमान बनाउनका लागि समस्या आइरहेको छ ।’

पूँजीगत खर्च चाहेजति विनियोजन गर्न नसकिएको र विनियोजन भएको बजेट समेत पुरै खर्च गर्न नसकिएको भन्दै उनले खर्च बढाउन सके उत्पादन पनि बढ्ने बताए । देश श्रीलंकाको बाटोमा गयो भनेर हल्ला चलाउँदा राजस्वलगायत अन्य क्षेत्रमा प्रभाव परेको र यसै कारण मौद्रिक नीति कडा पारिएको उनले बताए । अहिले विदेशी मुद्रा सञ्चिति राम्रो भएको, पर्यटन व्यवसाय पुरानो लयमा फर्किरहेको र विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको उनले जानकारी दिए । यो परिवेशमा मौद्रिक नीति खुकुलो हुने वित्तिकै सहजतातर्फ हाम्रो अर्थतन्त्र अगाडि बढ्ने मन्त्री डा. महतको भनाइ छ ।

सम्वन्धित

अन्य समाचार