Wednesday, February 5, 2025
Home Blog Page 91

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको प्रयोगविना पनि ।यद्यपि महिनावारी भएको बखत यौन सम्पर्क गर्नु चाहिं हुन्छ कि हुँदैन ? यो प्रश्न खासगरी दुई अर्थमा गर्नुपर्ने हुन्छ । एउटा त यौनाङ्गको स्वच्छता र अर्को चाहिं गर्भ रहने नरहने स्थिति ।

दम्पतीमा यसबारे द्विविधा छ । तर दुवै पार्टनरलाई महिनावारीको समयमा यौन सम्पर्क गर्न इच्छा छ भने त्यसमा कुनै समस्या हुँदैन । यद्यपि महिनावारीको समयमा अन्य बेलाभन्दा यौन प्रसारित रोग लाग्ने सम्भावना अत्यधिक लाग्ने कारण अस्थायी साधनको प्रयोग भने गर्नुपर्छ ।

गर्भ रहने सम्भावना कति ?
नियमित महिनावारी हुने महिलामा त्यस समय यौन सम्बन्ध बनाउँदा गर्भ रहँदैन । तर अनियमित महिनावारी हुने र छोटो महिनावारी चक्र छ भने महिलामा गर्भ रहने जोखिम हुन्छ । जस्तै, नियमित महिनावारी हुने महिलाले धेरैपछि रक्तश्राव हुँदा महिनावारी भन्ने सोचेर त्यस समयमा  यौन सम्बन्ध राखेमा गर्भ रहन सक्छ । यौन सम्बन्ध राख्दा महिनावारी चक्र नियमित छ छैन भन्ने कुरामा निश्चित हुनुपर्छ ।त्यस्तै, जुन महिलाको महिनावारी चक्र छोटो अवधि अर्थात् २८ दिनको छ भने सात दिनमा पनि डिम्बाशय बन्न सक्छ । जसले गर्दा महिनावारीको चार-पाँच दिनमा यौन सम्बन्ध राखे पनि गर्भ रहन सक्छ । यदि ३० दिनमा महिनावारी हुने गरेको छ भने डिम्बाशय ढिला बन्छ, जसकारण महिनावारी भएको ६-७ दिनमा सम्बन्ध कायम राखे पनि गर्भ रहने सम्भावना कम हुन्छ ।यदि महिनावारीको समयमा पनि नियमित गर्भ निरोधक औषधि जारी राखिएको छ भने पनि गर्भवती हुने सम्भावना हुँदैन । महिनावारी होस् वा नहोस् चक्कीले काम गर्न छाड्दैन । महिनावारी भएको अवस्थामा यौन सम्बन्ध बनाउनु परे कण्डम वा गर्भनिरोधक चक्कीको प्रयोग गर्नु सुरक्षित हुन्छ

संक्रमणको जोखिम हुन्छ ?

महिनावारीको समयमा यौन सम्बन्ध कायम राखेमा यौन प्रसारित संक्रमण हुने जोखिम बढी हुन्छ । किनभने भाइरसहरू रगतमा बस्छन् र रगतको सम्पर्कबाट यौन रोग फैलिन सक्छ । यौन सम्पर्क गर्दा कण्डमको प्रयोगले यौन प्रसारित रोग फैलिने जोखिम कम गर्न सकिन्छ ।महिनावारीको समयमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन् । त्यसक्रममा सम्बन्ध स्थापित भएमा ल्युब्रिकेसनको आवश्यक नपर्ने विभिन्न अध्ययनले देखाएको छ । साथै यो अवधिमा सम्बन्ध स्थापित गर्नाले केही महिलालाई हुने महिनावारीको प्रभाव माइग्रेन र टाउको दुख्ने समस्या कम हुन्छन् ।

ध्यान दिनुपर्ने कुरा

सबैभन्दा बढी महिलालाई कुनै रोग वा संक्रमण छ र यौन सम्पर्क गर्दा पीडा हुन्छ भने सकेसम्म सम्बन्ध नराखेको नै राम्रो हुन्छ । पेट दुखिरहेको वा शारीरिक रुपमा कमजोर भएको अवस्थामा सम्बन्ध नबनाउँदा थप समस्या निम्तिन सक्छ । यदि यौन सम्पर्कको लागि महिला तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क राख्न सकिन्छ । सम्बन्ध बनाउनुअघि आफ्नो पार्टनरको पनि इच्छा छ भने मात्र सम्बन्ध बनाउनु पर्छ । रक्तस्राव भइरहेको छ भने सफा गरेर मात्र सम्बन्ध राख्नुपर्छ । यौन सम्पर्क गर्नुअघि र पछि आफ्नो गुप्ताङ्ग राम्ररी धुनुपर्छ । यदि महिनावारीको समयमा महिलाले ट्याम्पोन लगाएकी छिन् भने निकाल्नुपर्छ ।

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ.

मुद्दा कमजोर पार्न प्रहरीमाथि राजनीतिक ‘दबाब’

काठमाडौँ — सार्वभौम मुलुकका नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमानमा आँच पुग्ने गरी रचिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कठोर कारबाही हुनुपर्ने दबाब संसद् र सडकबाट आइरहेका बेला मुद्दा कमजोर बनाउन राजनीतिक चलखेल सुरु भएको छ ।

शरणार्थी प्रकरणमा अनुसन्धान पूरा गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने समय नजिकिँदै गर्दा ठगीसम्बन्धी कसुरमा मात्र मुद्दा चलाउने गरी राय पेस गर्न प्रहरीमाथि दबाब परेको हो ।

कांग्रेस नेता बालकृष्ण खाण अनुसन्धानमा तानिएर हिरासतमा छन् भने अन्य केही नेतामाथि पनि आरोप छ । विपक्षी दल एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी पक्राउ परिसकेको अवस्थामा मुद्दा कमजोर बनाउन ‘सत्ता–प्रतिपक्षी’ मिलान हुने अनुमान पनि हुन थालेको छ । केही दिनयता प्रमुख तीन दलका शीर्ष नेताहरूका बैठक अस्वाभाविक रूपमा बाक्लिएको छ ।

आरोपितमाथि आकर्षित हुने सबै कसुर लगाएर सजाय दिलाउनुपर्ने माग सडकदेखि संसद्सम्म उठिरहे पनि मुद्दा कमजोर बनाउन तीव्र दबाब आउन थालेको एक प्रहरी अधिकारीले बताए । कांग्रेसका शीर्ष नेताले प्रहरी अधिकारीलाई सम्पर्क गरी गम्भीर चासो लिएको उनको भनाइ छ । स्रोतका अनुसार सरकारकै एक उच्च अधिकारीले प्रहरी अधिकृतसँग ‘गठबन्धन सरकार भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको’ सुनाएका छन् ।

शरणार्थी प्रकरणका आरोपितमाथि राज्यविरुद्धको अपराधदेखि मानव बेचबिखन तथा ओसारपसारसहित आधा दर्जन जति कसुर आकर्षित हुने अवस्था छ । ‘मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मात्र कारबाही मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गर्न दबाब छ,’ उनले भने । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने यस प्रकरणमा राष्ट्रघात भएको तर्क गर्दै हदैसम्मको कारबाही हुने गरी मुद्दा अघि बढाउनुपर्ने अडानमा छन् । ‘यो राष्ट्रघात हो, सामान्य भ्रष्टाचार होइन,’ उनको भनाइ छ, ‘कुनै दबाबले काम गर्दैन, कानुनअनुसार अघि बढ्छ ।’

नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने सरकारको तयारी

सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’

संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना पनि गरेका थिए । आजबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताएका थिए ।

यसैगरी सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिएका थिए ।

सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि उनले आभारी व्यक्त गरेका थिए । तर सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै उनले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।

अब घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको छ ।

सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था सुरु गरिएको हो ।

२०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन (अनलाइन मार्फत आवेदन दिनसक्ने र मिति लिन सक्ने) सेवा पाइरहेका विद्यार्थीले आज जेठ १ गतेदेखि पूर्णरुपमा अनलाइन सेवा पाउने भएका हुन् ।

शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको बताएकाे छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैंले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताए ।

विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको छ । राईले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेको र चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए ।

उनले भने, ‘नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैँले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने आफैँले प्रिन्ट आउट गर्नसक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्नसक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो, यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको शुरुवात भइसकेपछि बिस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ । यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले अब अन्य निकायहरुले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरु गर्नु पर्ने बताए ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।

स्मार्टनगर १ : झापाको कनकाई नगरपालिका डिजिटल र स्मार्ट बन्यो

झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो कानमा प्रतिध्वनित भइरहेका हुन सक्छन् । तर स्मार्ट नगर कसरी बनाउने भन्नेमा सबै उम्मेदवारहरु सायद जानकार पनि थिएनन् ।

‘सुकिलो बाटो, बाटोको दुवैतर्फ रंगीचंगी फूलहरु, घरहरुमा एकै प्रकारको रंगरोगन आदिबाट स्मार्ट नगर बनाइनेछ’ एकजना उम्मेदवारको अन्तरवार्ताको यो एक अंशले पनि उहाँको परिकल्पना अर्कै बुझाउँछ । सुन्दर बनाउँछौं भन्ने शब्दलाई छोटोमा स्मार्ट भनिएको हुनसक्छ । तर स्मार्ट शब्दले डिजिटल प्रविधिसँग सामिप्यता राखेको कतिपयलाई जानकारी थिएन र छैन पनि ।

तर ‘स्मार्टनगर’को वास्तविक कार्यान्वयन झापाको कनकाई नगरपालिकाले गरेको छ । नेपालका ७५३ पालिकामध्ये कनकाई नगरपालिकाले प्रवाह गर्ने सेवाहरु अनलाइन प्रविधिबाट गर्ने सम्भवतः नेपालकै पहिलो हो । ‘चालू आर्थिक वर्षको पहिलो महिना २०७९ साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सेवा उपभोग गरी २०७९ फागुन मसान्तसम्ममा ६ हजार ८५२ सेवाग्राही लाभान्वित भएका’ नगरपालिकाको आईटी शाखा प्रमुख खगेन्द्र मिश्र बताउँछन् ।

सबै मानिसमा कामको ब्यस्तता बढेको मात्रै होइन, समयको महत्व पनि बुझ्न थालेका नगरबासी सेवाग्राहीलाई लक्षित गरी कनकाई नगरपालिकाले डिजिटल सेवा प्रवाह सुरु गरेको हो । सेवाग्राहीहरुको लामो भिडभाड, कागजपत्रको थाक अनि समयको बचत सबैलाई डिजिटल कारोबारले राहत पुर्याएको पाइन्छ ।

देशकै पहिलो विद्युत् चुहावट मुक्त नगर अनि बन्द निशेधित नगरको पहिचान बनाएको कनकाईले अब मुलुककै पहिलो स्मार्टनगरको पनि विशेषता थपेको छ । डिजिटल यूगलाई आत्मसाथ गर्दै नगरपालिकाले प्रदान गर्ने अधिकांश सेवाहरु अनलाइनबाटै प्रदान गर्न थालेको हो ।

बजारमा उपलब्ध अनलाइन भुक्तानी सेवा प्रदायकहरु र डिजिटल वालेट तथा एप्लिकेशनहरुसँगको सहकार्यमा नगरपालिकाले कर राजश्व पनि संकलन गरिरहेको छ । कनेक्ट आइपिएस, खल्ती, आइएमई–पे, प्रभु–पे, ई–सेवा आदि डिजिटल सेवाबाट नगरपालिकालाई सिफारिस दस्तुरदेखि कर राजश्व बुझाउन सकिने व्यवस्था मिलाइएको आईटी शाखा प्रमुख मिश्रको भनाई छ ।

नगरपालिकाले सेवाग्राहीको भौतिक भिडभाडलाई न्यूनीकरण गर्न, सेवाग्राहीलाई समयको बचतमा सघाउन तथा नगरपालिकाको कामलाई स्मार्ट बनाउन अनलाइन सेवा प्रवाह गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् । डिजिटल एप्लिकेशनले दिएको सुविधा र सेवालाई प्रचुरमात्रामा उपयोग गर्न, श्रम र समयको बचत गर्न, नगरपालिका धाउने यातायात खर्च जोगाउन एवम् छिटो छरितो र पारदर्शी काम गराउन स्मार्ट नगरको परिकल्पना गरिएको नगरप्रमुख पोखरेल बताउँछन् ।

डिजिटल प्रविधिको उपयोगबाट सेवाग्राहीलाई कार्यालयमा आएर सम्बन्धित शाखामा लाइनमा बस्ने झन्झट हटेको छ भने नगरपालिकामा कागजपत्रको भौतिक प्रयोग पनि घटेको छ । ‘अनलाइनबाट प्रवाह गरिएका सेवाहरुका कागजात सिलसिलेवार ढंगले प्रविष्ट भएका हुन्छन् । खोजेको बेला फाइल पल्टाएर भौतिकरुपमा कागजपत्र खोजेजस्तै सजिलो गरी अनलाइनमा नै भेट्न सकिने गरी रहेको हुन्छ’ आइटी शाखा प्रमुख मिश्र प्रष्ट्याउँछन् । डिजिटल प्रणालीको विकास गर्नका लागि विभिन्न संघ–संस्थाहरु र कम्पनीहरुसँग थप सहकार्य भइरहेको जनाइएको छ ।

घैलाडुब्बा र सुरुङ्गा गाविस समायोजन गरी २०७१ वैशाख २५ गते कनकाई नगरपालिकाको स्थापना भएको हो । ७९ दशमलव १ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र ५३०८८ जनसंख्या रहेको कनकाई नगरपालिकाले पालिकालाई तिर्नु बुझाउनु पर्ने कर राजश्व अनलाइनबाटै संकलन गर्न सकिने बनाएको हो । उक्त करको विजक तथा विवरण अनलाइनमा नै देख्न र प्रिन्ट गर्न मिल्ने बनाइएको छ ।

स्मार्ट नगरको परिकल्पनालाई आइटीका कर्मचारीहरुले सफल कार्यान्वयन गरिरहेका छन् । विभागीय प्रमुख मिश्रका अनुसार अनलाइनको प्रयोग गरी करिब सात हजार निवेदन परेका र तिनको कार्यान्वयन अनलाइनबाटै गरिएको छ ।

कनकाई नगरपालिकाको वडागत तथ्याङ्क अनुसार वडा नं. १ मा १ हजार २४६, वडा नं. २ मा ९३५, वडा नं. ३ मा २ हजार १६ र वडा नं. ४ मा ९६९ वटा सेवा अनलाइन निवेदनबाट कार्यान्वयन गरिएका छन् । यसैगरी वडा नं. ५ मा ६६२, वडा नं. ६ मा ६४४, वडा नं. ७ मा १ हजार २३७, वडा नं. ८ मा ७४७ र वडा नं. ९ मा ५७७ वटा निवेदनहरु सेवाग्राहीले अनलाइनबाट निवेदन गरेका थिए ।

चालू आर्थिक वर्ष अनलाइन सेवाका विषयमा सेवाग्राहीलाई चेतना जागरण गर्न र प्रचारप्रसार गर्न समय छुट्याएका छौं । मुलुकका ७५३ वटा नगरपालिकाहरु मध्ये कनकाई नगरपालिकाले पहिलो अभ्यास थालेकाले यसका लागि जागरण ल्याउन, उपभोक्तालाई प्रयोगमा बानी लगाउन समय लाग्ने आईटी शाखा प्रमुख मिश्र बताउँछन् ।

गत फागुन १० गतेदेखि डिजिटल कनकाई क्याम्पेन सञ्चालन गरिरहेको आइटी शाखाले चैत १ गतेदेखि नगरपालिका भित्रका विद्यालय र क्याम्पसहरुमा गएर विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम दिइरहेको छ । २०७९ साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सेवा उपभोग गरी २०७९ फागुन मसान्तसम्मको ८ महिना अवधिमा ६ हजार ८५२ सेवाग्राही लाभान्वित भएको आईटी शाखा प्रमुख मिश्र तथ्याङ्क सुनाउँछन् ।

योसँगै नगरपालिका कार्यालयमा जनप्रतिनिधि रहेको वा नरहेको, विभिन्न विभागीय कर्मचारीहरु कार्यकक्षमा रहे वा नरहेको थाहा पाउन सजिलो होस् भनेर नगरपालिकाले अनलाइन सूचना पाटी पनि सञ्चालन गरेको छ । यस्तो अनलाइन सूचना पाटी राख्ने काम पनि कनकाई नगरपालिका मुलुकमा नै पहिलो भएको बताइन्छ । अब कोही पनि सेवाग्राहीले नगरपालिका आउनु अघि नगरको अनलाइन सूचना पाटी वेबसाइट हेरेर सम्बन्धित जनप्रतिनिधि वा कर्मचारी कार्यालयमा भए नभएको थाहा पाउन सक्नेछन् ।

नगरपालिका र वडाबाट प्रदान गरिने सेवाहरु मध्ये व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस अनलाइनबाटै दिने व्यवस्था हाल कार्यान्वयनमा छैन । सो कार्यका लागि भौतिक उपस्थिति अनिवार्य रहेको जनाइएको छ । सो बाहेकका अन्य सिफारिसहरु प्रदान गर्न तथा दस्तुर, कर, राजश्व बुझाउन नगरले डिजिटल सुविधा मिलाएको हो ।

पाथीभरा दर्शनमाजाँदा हराएका अर्जुनधाराका पराजुली मृत फेला

पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापा अर्जुनधारा नगरपालिका ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ । 

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहनुभएका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किनुभएका पराजुली उक्त समयदेखि नै बेपत्ता हुनुभएको थियो । पिसाब फेर्न निस्किनुभएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।

झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित पाथिभरा दर्शनमा हिनेका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ जानुभएको थियो । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् ।

राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए ।

‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए । ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ’ उनले भने ।

अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री डा. महतले बताए । ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएर पनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ’, उनले भने ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उनले बताए । ‘सकेसम्म यो सिष्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सक्दछौं, हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुन्छ’ उनले भने ।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने डा. महतले बताए ।

‘हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि खर्चको मनिटरिङ गर्छौं’ उनले भने ।

एक जना आमाले अस्पताल जादाजादै बाटोमै शिशुलाई जन्माएकि छिन

जाजरकोट सदरमुकाम खलंगामा एक जना आमाले अस्पताल जादाजादै बाटोमै शिशुलाई जन्माएकि छिन ।

पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएको पाइएको कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको छ ।