Thursday, February 6, 2025
Home Blog Page 12

रवि लामिछानेसहित १२ जना विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र उहाँका व्यवसायिक साझेदार छविलाल जोशीसहित १२ जना विरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीले हिजो उनीहरुविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएसँगै अब रवि लामिछानेलाई सुप्रिम सहकारी ठगीको कसुरमा रुपन्देही लैजाने बाटो खुलेको छ ।

प्रहरीले यसअघि छविलाल जोशीलाई रुपन्देही लगेर बयान लिइसकेको छ । जोशीलाई इलाका प्रहरी कार्यालय बुटवल लगेर अस्ति बुधवार पोखरा फर्काइएको थियो ।

जिल्ला अदालत कास्कीले रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । कास्कीमा रविको बयान सकिएपछि रुपन्देही लैजाने प्रहरीको तयारी छ ।

यस्तै चितवनको सहारा, वीरगन्जको साना पाइला, काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ ।

माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान सेमिफाइनलमा

0

माल्दिभ्सलाई हराउँदै भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । भुटानकी देकी ल्हजोमले ५ गोल गरिन् । यस्तै पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २ तथा नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १ गोल गरे । यो जीतसँगै भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ३ वटै खेल हार्दै पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा आजै यही समूहका नेपाल र श्रीलङ्का खेल्दैछन् । यो खेल अहिले बेलुकी साढे ५ बजे त्रिपुरेश्वरमा शुरू हुँदैछ । नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो र श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छन् । दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यसअघि समूह ‘ए’ बाट बङ्गलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् ।

झापामा बसको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु

झापाको कमल गाउँपालिका–४ केरखा स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिनुभयो । सोडारी अनुसार साँझ ५:३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रि बसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

यसअघि मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

‘रास्वपा’ सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ । हिजो बयानका लागि लामिछानेलाई प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो ।

सोमवार पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो । कार्तिक २ गते पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछनेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । यस्तै सहकारी ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिएको छ ।

अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित

अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका (ए) ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका (ए) का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका (ए) का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

सुनकोशीमा बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाका जवान सम्मानित

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरूलाई सम्मान गरेका छन्।असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सम्मान गरेका हुन्।

मंगलबार बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको पनि बताए।सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो ।

बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माणपश्चात भारबहन क्षमता परीक्षण गरि यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा ल्याइएको हो।

साफ महिला च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्सको पोलमा ११ गोल ।

Highlights

  • गोलका कीर्तिमानहरू बन्दा खेलमा रेखा पौडेलको ५ र प्रीति राईको ३ गोल

काठमाडौँ — फुटबलमा यति धेरै एकपक्षीय खेल बिरलै मात्र हुँदो हो । बलमाथि नेपालको नियन्त्रण लगभग ९० प्रतिशत । बल पूर्णतः माल्दिभ्सको आधा भागमा । टोलीले एउटै आक्रमण पनि बुन्न सकेन । आक्रामक मात्र होइन, बल लगभग नेपालको आधा भागमा जाँदै गएन अनि नेपालले गरेका ११ गोल ।

खासमा गोल त अझ बढी हुनुपर्ने थियो । फेरि नेपाली टिम पहिलो रोजाइकै थिएन । साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालले माल्दिभ्सलाई हराउँदाको कथा यही रह्यो ।

यसको पृष्ठभूमि भने यस्तो थियो । नेपाल आफ्नो पहिलो खेलमा भुटानको हातबाट गोलरहित बराबरीमा रोकिएको थियो । यस्तोमा नेपाली खेलाडी जति सबै चर्को दबाबमा थिए । प्रशिक्षक राजेन्द्र तामाङको चेतावनी भाषा थियो, ‘स्वार्थी बनेर नखेल्नु । स्टार खेलाडी हुन नखोज्नु । आफैंले गोल गर्न मात्र नखोज्नु । नत्र टिममै पर्ने छैनौं ।’ सायद भुटानविरुद्धको खेलमा खेलाडीको ‘व्यक्तित्व’ हाबी थियो । तर, माल्दिभ्सविरुद्ध खेलाडीको ‘व्यक्तित्व’ नै देखिएन ।

खेलको पहिलो हाफमा नेपाली खेलाडी गोल हुने निश्चित अवसरमा पनि पास दिनमै तल्लिन थिए । उनीहरूले पोस्टतर्फ आक्रमण नै बुनेनन् । खेलबाट मज्जा आइरहेको थिएन । तर, माल्दिभ्स आफैंमा कति धेरै कमजोर थियो भने नेपाली टिम ११ गोल गर्न सफल रह्यो । ‘हाम्रा लागि ११ गोल ठूलो होइन, यसमा गर्व गर्न पनि हुन्न । हामीलाई त एकै गोलको जित पनि ठीक थियो, किनभने हामीलाई ३ अंक चाहिएको थियो,’ खेलपछि प्रशिक्षक तामाङले भने, ‘अब भने सेमिफाइनल समीकरण केही सजिलो भएको छ ।’

SAFF Women's Championship: Important 3 points with 11 goalsसोमबार खेलमा ५ गोल गरेकी रेखा टिमकी सरु लिम्बूसँग खुसी साट्दै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

उनले खिचेको निचोड भने ठीक थियो । नेपालको काम अझै सकिएको छैन, किनभने सेमिफाइनल प्रवेश निश्चित भएको छैन । अझ अप्रत्याशित नतिजामा नेपाल बाहिरिने डर पनि छ । ‘भुटानविरुद्धको खेलपछि हामीले त्यस खेलको विश्लेषण गर्‍यौं । त्यसअनुसार योजना बनायौं,’ प्रशिक्षक तामाङले भने, ‘हाम्रो काम अझै सकिएको छैन । हामीले टिममा सुधार्नुपर्ने ठाउँ धेरै छन् ।’ खासमा माल्दिभ्समाथिको जितमा गोलभन्दा ३ अंकको महत्त्व रह्यो ।

गोलका कीर्तिमान

तीन अंकको जत्ति नै महत्त्व रहे पनि ती ११ गोललाई कसैले बिर्सन सक्छन् र ? खासमा यी गोलका क्रममा नेपाली महिला फुटबलका अनेक कीर्तिमान बने । पहिलो कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो तेस्रो ठूलो अन्तरको जित रह्यो । यसअघि नेपालले सन् २०१० मा अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो । यसरी नेपालले एउटै खेलमा गोलको दोहोरो संख्या छोएको यो तेस्रो अवसरमात्रै रह्यो ।

SAFF Women's Championship: Important 3 points with 11 goalsयसपल्ट मादिल्भ्समाथि ह्याट्रिक गर्ने दुई खेलाडी रेखा पौडेल र प्रीति राई रहे । रेखाले त पाँचै गोल गरिन् । उनी एउटै खेलमा ५ वा त्यो भन्दा बढी गोल गर्ने दोस्रो खेलाडीमात्र बनिन् । यसअघि सावित्रा भण्डारीले तीन अवसरमा पाँच वा त्यो भन्दा बढी गोल गरेकी छन् । साफ च्याम्पियनसिपमा उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी बनिन् । अनु लामा, जमुना गुरुङ र सावित्रापछि । लगत्तै प्रीति यो प्रतियोगितामा ह्याट्रिक गर्ने पाँचौं नेपाली खेलाडी बनिन् ।

रेखाले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गरिन् । प्रीतिले भने ६, ६५ र ८७ औं मिनेटमा गोल गरिन् । त्यसमध्ये तेस्रो गोल भने पेनाल्टीबाट भएको थियो । दुवै खेलाडीले नेपालका लागि ह्याट्रिक गरेको यो नै पहिलो अवसर हो । नेपालका लागि एउटै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको यो तेस्रोपल्ट मात्रै हो । यसअघि तिनै अफगानिस्तान र पाकिस्तानविरुद्ध प्राप्त जितमा जमुना र अनुले दोहोर्‍याएर एक–एक ह्याट्रिक गरेका थिए ।

SAFF Women's Championship: Important 3 points with 11 goalsत्यस्तै प्रीति नेपालका लागि ह्याट्रिक गर्ने मिडफिल्डको पहिलो खेलाडी बनिन् । यति धेरै गोलका विशेषता भएपछि प्रशिक्षक तामाङलाई लाग्दो हो, तीन अंकमात्र होइन, यी गोलको पनि उत्तिकै महत्त्व हुनेछ । यहाँनिर तिनै रेखाले ठीकै बोलिन् । उनको भनाइ थियो, ‘यो खेल अगाडि हामी असाध्यै दबाबमा थियौं । सबैलाई चिन्ता लागेको थियो । तर आज प्राप्त ठूलो अन्तरको जितपछि हामीलाई राहत भएको छ । म आफैं पनि धेरै खुसी छु । अब हामी अर्को खेलका लागि आत्मविश्वासी हुनेछौं ।’

SAFF Women's Championship: Important 3 points with 11 goalsयसै खेलबाट सजनी थोकरले नेपालका लागि डेब्यु गरिन् । अनि फ्रान्सबाट आइतबार मध्यराति काठमाडौं आइपुगेकी सावित्राको आवश्यकता पनि महसुस भएन । उनलाई पूर्णतः आराम दिइएको थियो । प्रशिक्षक तामाङले भुटानविरुद्धको खेलबाट ५ परिवर्तन गर्दै टिम उतारेको थियो । यसैक्रममा सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले पनि गोल गरे । यसमध्ये सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरेका हुन् ।

अबको समीकरण

सोमबारको पहिलो खेलमा भुटानले श्रीलंकालाई सजिलै हराएको थियो । त्यसमा भुटानका लागि डेकी ल्हाज्मोले ७ र ७६ औं मिनेटमा दुई गोल गरिन् । डोजी एडिनले ३२ र नाम्गेल डेमाले ७९ औं मिनेटमा गोल गरे । श्रीलंकाको तर्फबाट थुसानी मदुसिकाले एक गोल फर्काइन् । यो २३ औं मिनेटमा सम्भव भयो । समूह ‘बी’ बाट यही टिम सेमिफाइनल जाने छ भन्ने अहिले टुंगो लागेको छैन । माल्दिभ्सको चुनौती भने समाप्त भएको छ ।

माल्दिभ्सको यो लगातार दोस्रो हार हो र शून्यमा छ । नेपाल र भुटानको भने समान ४ अंक भएको छ । नेपाल गोल अन्तरले समूहको शीर्षमा छ । श्रीलंकाको ३ अंक छ । यो समूहको अन्तिम दिनको खेलमा भुटानले माल्दिभ्स र नेपालले श्रीलंकाको सामना गर्नेछ । श्रीलंकासामु अझै पनि नेपाललाई स्तब्ध पार्ने सम्भावना छ । त्यसैले टोलीका प्रशिक्षक एमएच रोमीले ठीकै भनेका छन्, ‘नेपालविरुद्ध हामी सक्दो राम्रो गर्ने प्रयासमा हुनेछौं, किनभने हाम्रो सम्भावना पूर्णतः कायम नै छ ।’

कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।  सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएबम हुन् । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन पनि दिएका छन् ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैर जिम्मेवारीपन र योजना विहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुन:स्थापना क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ । जनप्रदर्शन र खबरदारीसभाका थप एजेन्डा तय गर्न पेरिसडाँडामा बैठक जारी छ ।

सुरुङ्गाको हरिकुल नमूना माविले देउसी भैलो प्रतियोगितालाई निरन्तरता दिदै ।


चन्द्र बस्नेत,
कार्तिक ५, २०८१ सोमबार, कनकाई ।

तिहारलाई लक्षित गरेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । लोक संस्कृतिको प्रबन्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् अवसर पारी आगामी कात्तिक १४ गते बुधवार विद्यालयको परिसरमा कार्यक्रमको आयोजना गर्ने निश्चित भएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो ।


हरिकुल नमुना माध्यमिक विद्यालयले बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका साथ विगतका वर्षहरूमा पनि आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाले बताउनुभयो ।
कार्यक्रममा कला संस्कृति संरक्षका बारेमा विभिन्न सचेतना मूलक पुराना देउसी भैलोका भाकाहरु प्रस्तुत हुने विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।


प्रतियोगितामा सहभागी हुने समूहले कार्तिक १३ गते सम्म नाम दर्ता गरिसक्नु पर्ने छ । ५ देखि १५ जना ले मात्र टोलीमा सहभागी जनाउन सक्नेछन् । १० देखि १५ मिनेट समय भित्र प्रस्तुत गरिसक्नु पर्ने देउसी भैलोमा सहभागीहरूले परम्परागत लोक संस्कृति झल्कने पहिरन अनिवार्य लगाउनु पर्ने आयोजकले नियम बनाएको छ ।
खुलादेउसी भैलो प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै द्वितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै तृतीय हुनेलाई नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र र सान्त्वना हुनेलाई पनि पुरस्कारको व्यवस्था रहेको विद्यालयका सञ्चालक साजन थापाले बताउनुभएको छ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल खत्रीको भनाई छ।


विद्यालयले पढाईका साथसाथै हरेक शुक्रबार ईसिए । अन्तर्गत विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको सञ्चालक साजन थापाले बताउनुभएको छ। विशेष गरेर विध्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिनुभयो । खुला प्रतियोगिता भएकोले विद्यालय र समुदायका देउसी टोलीले प्रतियोगितामा सामेल हुन सक्ने बताइएको छ ।


लामो समय विदेशको शिक्षण सिकाइ अब आफ्नै ठाउँमा लागू गर्न लागिपरेको भन्दै व्यवस्थापक राजु थापाले बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको बताउनुभयो ।


विद्यार्थीहरूले यश अघिपनि विभिन्न समयमा वृक्षा रोपन , विज्ञान प्रर्दशनी , विभिन्न स्थानको सरसफाइ , डस्टबिन वितरण ,विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।२०५१ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल १ हजार ५० बढी बिद्यार्थी ५० बढी शिक्षक शिक्षिका ३० जना भन्दा धेरै अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।