Highlights
- गोलका कीर्तिमानहरू बन्दा खेलमा रेखा पौडेलको ५ र प्रीति राईको ३ गोल
काठमाडौँ — फुटबलमा यति धेरै एकपक्षीय खेल बिरलै मात्र हुँदो हो । बलमाथि नेपालको नियन्त्रण लगभग ९० प्रतिशत । बल पूर्णतः माल्दिभ्सको आधा भागमा । टोलीले एउटै आक्रमण पनि बुन्न सकेन । आक्रामक मात्र होइन, बल लगभग नेपालको आधा भागमा जाँदै गएन अनि नेपालले गरेका ११ गोल ।
खासमा गोल त अझ बढी हुनुपर्ने थियो । फेरि नेपाली टिम पहिलो रोजाइकै थिएन । साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालले माल्दिभ्सलाई हराउँदाको कथा यही रह्यो ।
यसको पृष्ठभूमि भने यस्तो थियो । नेपाल आफ्नो पहिलो खेलमा भुटानको हातबाट गोलरहित बराबरीमा रोकिएको थियो । यस्तोमा नेपाली खेलाडी जति सबै चर्को दबाबमा थिए । प्रशिक्षक राजेन्द्र तामाङको चेतावनी भाषा थियो, ‘स्वार्थी बनेर नखेल्नु । स्टार खेलाडी हुन नखोज्नु । आफैंले गोल गर्न मात्र नखोज्नु । नत्र टिममै पर्ने छैनौं ।’ सायद भुटानविरुद्धको खेलमा खेलाडीको ‘व्यक्तित्व’ हाबी थियो । तर, माल्दिभ्सविरुद्ध खेलाडीको ‘व्यक्तित्व’ नै देखिएन ।
खेलको पहिलो हाफमा नेपाली खेलाडी गोल हुने निश्चित अवसरमा पनि पास दिनमै तल्लिन थिए । उनीहरूले पोस्टतर्फ आक्रमण नै बुनेनन् । खेलबाट मज्जा आइरहेको थिएन । तर, माल्दिभ्स आफैंमा कति धेरै कमजोर थियो भने नेपाली टिम ११ गोल गर्न सफल रह्यो । ‘हाम्रा लागि ११ गोल ठूलो होइन, यसमा गर्व गर्न पनि हुन्न । हामीलाई त एकै गोलको जित पनि ठीक थियो, किनभने हामीलाई ३ अंक चाहिएको थियो,’ खेलपछि प्रशिक्षक तामाङले भने, ‘अब भने सेमिफाइनल समीकरण केही सजिलो भएको छ ।’
सोमबार खेलमा ५ गोल गरेकी रेखा टिमकी सरु लिम्बूसँग खुसी साट्दै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
उनले खिचेको निचोड भने ठीक थियो । नेपालको काम अझै सकिएको छैन, किनभने सेमिफाइनल प्रवेश निश्चित भएको छैन । अझ अप्रत्याशित नतिजामा नेपाल बाहिरिने डर पनि छ । ‘भुटानविरुद्धको खेलपछि हामीले त्यस खेलको विश्लेषण गर्यौं । त्यसअनुसार योजना बनायौं,’ प्रशिक्षक तामाङले भने, ‘हाम्रो काम अझै सकिएको छैन । हामीले टिममा सुधार्नुपर्ने ठाउँ धेरै छन् ।’ खासमा माल्दिभ्समाथिको जितमा गोलभन्दा ३ अंकको महत्त्व रह्यो ।
गोलका कीर्तिमान
तीन अंकको जत्ति नै महत्त्व रहे पनि ती ११ गोललाई कसैले बिर्सन सक्छन् र ? खासमा यी गोलका क्रममा नेपाली महिला फुटबलका अनेक कीर्तिमान बने । पहिलो कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो तेस्रो ठूलो अन्तरको जित रह्यो । यसअघि नेपालले सन् २०१० मा अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो । यसरी नेपालले एउटै खेलमा गोलको दोहोरो संख्या छोएको यो तेस्रो अवसरमात्रै रह्यो ।
यसपल्ट मादिल्भ्समाथि ह्याट्रिक गर्ने दुई खेलाडी रेखा पौडेल र प्रीति राई रहे । रेखाले त पाँचै गोल गरिन् । उनी एउटै खेलमा ५ वा त्यो भन्दा बढी गोल गर्ने दोस्रो खेलाडीमात्र बनिन् । यसअघि सावित्रा भण्डारीले तीन अवसरमा पाँच वा त्यो भन्दा बढी गोल गरेकी छन् । साफ च्याम्पियनसिपमा उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी बनिन् । अनु लामा, जमुना गुरुङ र सावित्रापछि । लगत्तै प्रीति यो प्रतियोगितामा ह्याट्रिक गर्ने पाँचौं नेपाली खेलाडी बनिन् ।
रेखाले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गरिन् । प्रीतिले भने ६, ६५ र ८७ औं मिनेटमा गोल गरिन् । त्यसमध्ये तेस्रो गोल भने पेनाल्टीबाट भएको थियो । दुवै खेलाडीले नेपालका लागि ह्याट्रिक गरेको यो नै पहिलो अवसर हो । नेपालका लागि एउटै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको यो तेस्रोपल्ट मात्रै हो । यसअघि तिनै अफगानिस्तान र पाकिस्तानविरुद्ध प्राप्त जितमा जमुना र अनुले दोहोर्याएर एक–एक ह्याट्रिक गरेका थिए ।
त्यस्तै प्रीति नेपालका लागि ह्याट्रिक गर्ने मिडफिल्डको पहिलो खेलाडी बनिन् । यति धेरै गोलका विशेषता भएपछि प्रशिक्षक तामाङलाई लाग्दो हो, तीन अंकमात्र होइन, यी गोलको पनि उत्तिकै महत्त्व हुनेछ । यहाँनिर तिनै रेखाले ठीकै बोलिन् । उनको भनाइ थियो, ‘यो खेल अगाडि हामी असाध्यै दबाबमा थियौं । सबैलाई चिन्ता लागेको थियो । तर आज प्राप्त ठूलो अन्तरको जितपछि हामीलाई राहत भएको छ । म आफैं पनि धेरै खुसी छु । अब हामी अर्को खेलका लागि आत्मविश्वासी हुनेछौं ।’
यसै खेलबाट सजनी थोकरले नेपालका लागि डेब्यु गरिन् । अनि फ्रान्सबाट आइतबार मध्यराति काठमाडौं आइपुगेकी सावित्राको आवश्यकता पनि महसुस भएन । उनलाई पूर्णतः आराम दिइएको थियो । प्रशिक्षक तामाङले भुटानविरुद्धको खेलबाट ५ परिवर्तन गर्दै टिम उतारेको थियो । यसैक्रममा सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले पनि गोल गरे । यसमध्ये सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरेका हुन् ।
अबको समीकरण
सोमबारको पहिलो खेलमा भुटानले श्रीलंकालाई सजिलै हराएको थियो । त्यसमा भुटानका लागि डेकी ल्हाज्मोले ७ र ७६ औं मिनेटमा दुई गोल गरिन् । डोजी एडिनले ३२ र नाम्गेल डेमाले ७९ औं मिनेटमा गोल गरे । श्रीलंकाको तर्फबाट थुसानी मदुसिकाले एक गोल फर्काइन् । यो २३ औं मिनेटमा सम्भव भयो । समूह ‘बी’ बाट यही टिम सेमिफाइनल जाने छ भन्ने अहिले टुंगो लागेको छैन । माल्दिभ्सको चुनौती भने समाप्त भएको छ ।
माल्दिभ्सको यो लगातार दोस्रो हार हो र शून्यमा छ । नेपाल र भुटानको भने समान ४ अंक भएको छ । नेपाल गोल अन्तरले समूहको शीर्षमा छ । श्रीलंकाको ३ अंक छ । यो समूहको अन्तिम दिनको खेलमा भुटानले माल्दिभ्स र नेपालले श्रीलंकाको सामना गर्नेछ । श्रीलंकासामु अझै पनि नेपाललाई स्तब्ध पार्ने सम्भावना छ । त्यसैले टोलीका प्रशिक्षक एमएच रोमीले ठीकै भनेका छन्, ‘नेपालविरुद्ध हामी सक्दो राम्रो गर्ने प्रयासमा हुनेछौं, किनभने हाम्रो सम्भावना पूर्णतः कायम नै छ ।’