Friday, October 18, 2024

डरले मुटु काँप्छ, मालिकको आडभरोसा छ-लेबनानका नेपाली श्रमिक

Share

काठमाडौँ — इजरायल र हिजबुल्लाहबीचको लडाईं बढ्दै गएपछि लेबनानमा कार्यरत घरेलु महिला श्रमिकहरु रोजगारदातामाथि नै पूर्ण रुपमा आश्रित हुनुपर्ने अवस्था बन्दै गएको छ । उनीहरु तत्काल लेबनान छोडिहाल्ने मनस्थिति बनाइसकेका छैनन् । तर, सुरक्षाको लागि रोजगारदाताले लैजाने ठाउँमा स्थान्तरण हुन तयार भएर बसेका छन् ।

हवाई आक्रमण गरिरहेको इजरायली सेना हिजबुल्लाहको नियन्त्रण रहेको लेबनानी भूमिमा प्रवेश गर्ने तयारी गरिरहेको छ । गत सोमबरदेखि हिजबुल्लाह र इजरायली सेनाबीच लडाइँ चर्किएको हो । इजरायलको श्रृखंलाबद्ध हवाई आक्रमणबाट तीन दिनभित्र लेबनानमा मृत्यु हुनेको संख्या कम्तीमा ५६९ पुगिसकेको छ ।

अहिले सुरक्षाको लागि लेबनानको दक्षिणी क्षेत्रबाट बेरुत र सिरिया जाने लेबनानीहरुको संख्या बढिरहेको छ । ‘यूएनएचसीआर’ काअनुसार युद्धबाट विस्थापित भएका ९० हजारमध्ये ६ हजार ६ सय ९७ जना लेबनानी र १७ हजार सिरियालीहरु सिरियाको सीमा पार गरिसकेका छन् ।

बेरुतमा कार्यरत मञ्जु मोक्तानले बेरुतको सुरक्षा अवस्था हेरेर स्थान्तरण हुने घर मालिक (रोजगारदाता)को योजना रहेको बताइन् । ‘हामी बेरुतमै छौं । सुरक्षित छौं तर डर छ । बेरुतमा असुरक्षा बढेमा युद्ध नहुने पहाडको घरमा गएर बस्ने योजना छ,’ उनले भने,‘मालिकका छोरा बुहारी भने पहाडको घरमा गइसकेका छन् ।’

नेपाली घरेलु श्रमिकहरुले तत्काल नेपाल फर्किहाल्ने योजना बनिनसकेको बताए । ‘मालिकले केही हुँदैन नै भनिरहेका छन् । हामीलाई धेरै डर देखाइएको छैन । हामी युद्ध चर्केको ठाउँबाट त टाढै हो भन्छन् । केही भए त हामी पठाउँला भनिरहेका छन्,’ घरेलु श्रमिक माया तामाङले भनिन्,‘विमानस्थल पनि बन्द छ । नेपालबाट छिटो आऊ भनेर फोन गरिरहेका छन् । के गर्ने ? के नगर्ने कुरा बुझ्नै सकिरहेको छैन ।’

तामाङले ‘लेबनानको महोल (समाचार) हेर्दा आफ्नो ज्यान नै जिरिङ्ग हुने गरेको बताइन् । ‘के गर्नु ? यस्तै छ । अहिलेसम्म सुरक्षित नै छु । भोलि आउने दिनमा के हुन्छ ? थाहा नै छैन ?,’ उनले भने,‘समाचार हेर्दा डरका कारण मुटुले ठाउँ छोडिसक्यो । यो युद्ध पहाडतिर पनि आउन थाल्यो भने घरतिर नै फर्कनुपर्ला ।’

सिरिया प्रवेश गरेको लेबनानसँग नेपाली रहे–नरहेको सूचना आफूहरुसँग नभएको चन्द्रा जोशीले बताइन् । ‘सिरियनहरु आफ्नो देश गइरहेका छन् । जहाँसम्म मलाई लाग्छ नेपालीहरु गएका छैनन् होला । धेरै नेपालीहरु सम्पर्कमा आइसकेका छन् । उनीहरु लेबनान छोडेको सूचना छैन,’ उनीले भनिन्,‘अहिले बिद्यालय बन्द भइसकेको छ । लुटपाट बढ्ने डर बढेको छ ।’

लेबनानको पहाडी क्षेत्रमा ११ वर्षदेखि घरेलु श्रमिक रहेकी सुन्दरी तामाङले आकासमा रकेट आउँदा घरको झ्यालहरु नै जोडले हल्लिने गरेको बताइन् । ‘म दुईपटक धेरै डराएँ । धेरैबेरसम्म मेरो मुटु काँपिरह्यो । यस्तो बेला घरका साहुसाहुनीको आड भरोसा निकै महत्त्वपूर्ण हुँदोरहेछ । मेरो जीवनमा यस्तो युद्ध कहिले भोगेको थिइनँ,’ उनले भनिन् ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलमाथि हिजबुल्लाह पनि आक्रमण सुरु गरेको थियो । त्यसपछि इजरायल र हिजबुल्लाहबीच लडाइँ भइरहेको छ । त्यसयता हिजबुल्लाहले उत्तरी इजरायल र इजरायलले कब्जा गरेको गोलान हाइट्समा आठ हजारभन्दा बढी रकेटहरू प्रहार गरिसकेको छ ।

इजरायलका सेनाका प्रमुख हर्जी हेलेवील हवाई हमलाले हिजबुल्लाहको पूर्वाधारलाई ध्वस्त पार्ने र इजरायली सेनालाई लेबनानी भूमिमा छिर्ने लक्ष्य राखेको छ । यसले थप तनाव बढ्ने सम्भावना बढेको छ । लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार थप ८१ जनाको मृत्यु भयो ।

बेलायतले आफ्ना नागरिकलाई ‘अहिले नै लेबनानबाट बाहिर निस्कन’ आह्ववान गरेको छ ।

बेलायतले उद्धारमा सहयोग गर्न करिब ७ सय थप सैनिकलाई साइप्रस पठाएको छ । तर, लेबनानका बेलायतीहरूले देश छोड्न कठिनाइ भएको बताइरहेका छन् । लेबनानको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश उडानहरु रद्द गरिएका छन् ।

‘हामीलाई मालिकले पठाइहाल्दा पनि तुरुन्तै निस्कन सजिलो छैन’, तामाङले भनिन्,‘हामीलाई यहाँको आफ्नो ज्यानसँगै रोजगारी पनि चिन्ता छ । घरमा काम गर्दा महिनाको ७० हजार कमाइ हुन्छ । खानबस्न सबै राम्रो छ । हरेक आइतबार बिदा हुन्छ । घर जान मन लाग्दा कुनै पनि बेला अनुमति मिल्छ । घरबाट अहिलेको अवस्थामा फर्कनु भनिरहेको छ । बरु युद्ध अलि कम भएपछि जानु भन्ने घरको चाहना छ । तर यहाँ मालिककोआड भारोसले बस्न आँट आइरहेको छ ।’

सम्वन्धित

अन्य समाचार