(लेखकःज्ञानमणि भुर्तेल)
रक्सी छोडुँ भनेको ! छोड्न नसकेर अचेल लजाइ-लजाइ पिउँछु भनेझैँ लेख्न छोडौं भनेको छोड्न नसकेर लजाइ-लजाइ लेख्दैछु ।
निकै अघि लेखेको २०३७ को मोरङ छात्रावासको एउटा रमाइलो प्रसंग फेरि स्मरण भयो –
मेस चलाउने क्रममा मेसको लागि खाद्यान्न किन्न जाँदा राजविराज निवासी एउटा साथीले चामलको बोराबाट ५ के.जी चामल झिक्न लाएर सो वापत नगद हसुरेको पोल खुलेपछि छात्रावास वार्डेनको उपस्थितिमा कचहरी बस्यो । शुरुमा त ‘हैन’ अडानमा अडिग साथी, पसले स्वयं उपस्थित भएर सत्य ओकलेपछि तातोपानीले पिल्सिसएको कर्कलोझैँ भएर चामलको पैसा तिर्न तयार भए, सँगसँगै उठेर बम्के- सर, कलेज बिदा भएको बेला यहाँ केटी ल्याएर मनपरि गरिन्छ । यस्ता रंगीला व्यभिचारीको पनि छानविन गर्नुपर्छ । अर्को साथीले प्रतिवाद गऱ्यो- तिम्रो चामल चोरी र अरुको व्यभिचारबीच के सम्बन्ध ? तिम्रो र उसको मुद्धा फरक हो । चामल चोरी प्रमाणित, व्यभिचारको प्रमाण नदेखिएको हुँदा चामलको पैसा असुलीपछि मुद्धा सकियो । तर चामलचोर र व्यभिचारी एक अर्काको आलोचक बन्न पुगे ।
समयक्रममा पढाइ सकिएपछि चामलचोर र झिल्के व्यभिचारी आ-आफ्नो घरतिर लागे । व्यवसायिक बाटो रोज्नुपर्दा चामल चोर आफ्नो धुर्त्याइँमा अब्बल, बोल्न थालेपछि बेलगाम घोडाझैँ हुने हुँदा पत्रकारिता क्षेत्र उनका लागि रोजाइको विषय बन्यो । आफ्नो मुलुकको मात लागेपछि प्रायः सबैलाई विदेशको लत लाग्छ । उनलाई पनि त्यही लतले अमेरिका पुऱ्यायो । छात्रावासको चोरबानी किन छुट्थ्यो र ! त्यता बस्दा पनि २ पासपोर्ट र २ नागरिकताका माध्यमबाट साथीभाइ लट्याउन र चोर्न उता पनि पछि परेनन् भनेर व्यापक हल्ला चल्यो । खै के के फाउण्डेशनका नाममा रकम हिनामिनाको कथा बेलाबेलाामा सुनिन्थ्यो । असल मान्छे पो एक ठाउँमा अडिन्छ त ! चोर उचक्का र फट्यांग्राको स्वभाव उस्तै हुन्छ । खै किन हो ? उता टिक्न नसकेपछि उफ्रेर आफ्नै मुलुक आइपुगे । मासिक एक लाख डलरको जागिर छोडेर देशप्रेम खातिर फर्केको भनेर स्वयं आफैं र बेलाबेला उनका चेलाचपेटाले भजन गाउँदै गरेको पनि सुनिन्छ ।
टिभी पत्रकारिता शुरु गरेका उनी चर्चित भए । चिच्याउन सिपालुलाई पत्रकारिताले चर्चाको शिखरमा पुऱ्यायो । पत्रकारिताको आडमा भद्रपुर भन्सार स्ट्रिङ अपरेशनको ब्ल्याकमेलिङ पश्चात २५ लाखको सम्झौता अनि अनारमनीको प्लाइउड फ्याक्ट्रीमा आफ्नो एजेण्ट पठाएर गरेको मोलमोलाइ ‘ब्राउन सुगर काण्ड’ले ओझेलमा पारेको कुरो सुनाउँदा सर्वसाधारणले पत्याउन मुस्किल मान्ने मात्र होइन सिधै इन्कार गर्छन् । किनभने उस समयका चामल चोर यस समय भगवान भएका छन् । पीत पत्रकारिताको नीचताको पराकाष्ठाको सानो नमुना मात्र हो त्यो । चौथो अंगलाई चुत्थो अंग बनाउन कुनै कसर राखेनन् । पत्रकारिताको व्यापार राम्रै चल्दै थियो । भनिन्छ- श्याललाई काल आए शहर पस्छ । उनी पनि शहर पसे अर्थात नेता हुने भए, पार्टी खोले । डाका आतंकबाट पीडित जनताले चोर असल देख्नु स्वभाविकै थियो । धेरैले उनलाई असल देखे । आफ्नो र मुलुकको भविष्य उनकै चिच्याहटमा देख्ने जनताको अपार भोटले उनी सांसद हुन गए । सिंहदरवार पुगे । चिच्याहट शिरोमणि त छँदैथिए चिच्याइकै आाधारमा चोर समाउने अफिसको जिम्मेवारी पाए । यसैबिच लिडरसिप ट्रेनिङ भन्दै फर्म भराएर पैसा बटुलेको चर्चा समेत चलेकै हो ।
उता ३७/३८ सालतिरको व्यभिचारी झिल्कै बनियाँ पुत्र पनि व्यवसायिक फाँट खोज्दै शहर पसे । बनियाँसँग चतुर्बुद्धि (कुबुद्धि) सँगसँगै पैसा पनि थियो । पैसाले हरेक कुरो किन्न पाउने मुलुकमा पत्रिका किन्न नपाउने कुरै थिएन । एकजना पूर्व कर्मचारी (राष्ट्रसेवक ?) सँग मिलेर पत्रिका कारखाना स्थापना गरेर कागजको व्यापार शुरु गरे । व्यापार कागजको भए पनि बनियाँ पैसाकै तागतमा ‘पत्रकार’मा दरिए । उनी पनि चौथो अंगको अभिन्न अंग हुन पुगे । बनियाँ-बुद्धि लाएर कागजको व्यापार शुरु गर्दाका ‘शिलान्यास मित्र’लाई फ्याँकेर कागज व्यापार एकलौटी बनाएपछि उनी र असनको साँढेमा खासै भिन्नता रहेन । चामलचोरले कुनै समय ‘बजाइदिउँ ?’ भनेझैँ बनियाँजी पनि ‘छापिदिउँ ?’ मन्त्र जप्दै सौदाबाजी धन्धामा लागे । त्यसको निशानामा पूर्वदुश्मन चामलचोर नपर्ने कुरै थिएन । नागरिकता, पासपोर्ट आदि इत्यादिको उत्खनन गरी सांसदको जागिर खुस्काउनमा बलिया पत्रकारको ठूलो योगदान रह्यो । चामल चोर मान्छे चैं ज्याद्रै हुन् । खुस्के पनि हिम्मत हारेनन् । चिच्याउन जानेकै थिए । भएभरका पत्रकार (पत्रुकार) भेला गरेर चिच्याउँदै १२ भाइ जन्माइदिए । हिम्मत जुटाए, फेरि जिल्ला गए, आफ्नोपछि भेडाको भीड छँदैथियो । जिल्लाबाट सांसदको बिल्ला भिरेर फेरि सिंहदरबार भित्रिए । भित्रिए मात्र होइन, बाहुबली नै सावित हुँदै त्यो भए खाने नत्र नखाने भन्दे रोड्याइँ गर्दै फेरि पनि चोर समात्ने जागिर पड्काउन सफल भए ।
उता बनियाँको छटपटी बढ्यो । उनका ठगी काण्डको फेहरिस्त हिन्दी सिरियलझैँ छाप्न थालियो । चुत्थो अंगका कलम विक्रेताले साहूलाई कलम जिम्मा दिएकै थिए । बनियाँ आफै कलम चलाउन थाले । चामल चोर र बनियाँको दोहोरीले मुलुक आक्रान्त बन्यो । हिन्दी फिल्मी अभिनेता राजकुमारको सदावहार डाइलग ‘जानी ! जो शिशे के घर में रहते हैं वो दुसरो के घर मे पत्थर नहीं फेंका करते’ बिर्सेर बनियाँजी ‘बाँदर धेर बाठो भयो भने केजाति भएर मर्छ’ भन्ने गोर्खाली उखानझैँ किर्ते काण्डमा वरिगति प्राप्तिको तयारीमा छन् भने उनीद्वारा पालित/चालित सबै शोकसभा गर्नमै व्यस्त छन् । सबै एकमुखले उनीमाथि प्रतिशोध लिएको भजन गाउन र चौथो अंगमाथिकै हमलाको भ्रम छर्न व्यस्त छन् । बनियाँ पत्रकार होइनन्, पत्रकारका साहूचाहिं अवश्य हुन् । उनी चौथो अंगका कुनै अंग पनि होइनन् । ‘चुत्थो अंग’का अभिन्न अंगचाहिं पक्कै हुन् । नागरिकता किर्ते अभियोगका विशुद्ध बनियाँ हुन् तत्कालका लागि । भविष्यका लागि के हुन् ? समयले बताउला ।
तर एउटा कुराचाहिं सत्य के हो भने, चामल चोरले एउटा व्यभिचारी झिल्केमाथि गरेको यो कारवाही प्रतिशोध नै सही एउटा गलत मान्छेले गरेको साह्रै असल कार्य पक्कै हो । भोलिका दिनमा बनियाँ शक्तिशाली भए भने चामल चोरलाई उनको चोरी काण्ड खोतलेर खोरमा जाक्लान्, त्यो अलग कुरा हो ।
(लेखकः गोमेन्द्र महाविद्यालयमा कार्यरत हुनुहुन्छ)