Friday, October 18, 2024

जीवन विकासले लियो नौ जना बालबालिकाको अभिभावकत्व

Share


८ चैत २०८० कनकाई
। जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ ।

मोरङको कटहरी–२ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले झापाको कनकाईमा आज ‘आर्थिक समृद्धिका लागि अभियान, वित्तीय साक्षरताको ज्ञान’ भन्ने नाराका साथ आयोजना गरेको सेवा केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा तीन जना सदस्यका परिवारको नौ जना बालबालिकाको एक वर्षका लागि अभिभावकत्व ग्रहण गरेको हो । संस्थाले ती बालबालिकाको एक वर्षमा शिक्षा आर्जनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले विना धितो सदस्यलाई ऋण दिएर सुविधा दिएको बताउँदै लिएको ऋणलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “ऋण लिनुभन्दा पनि त्यसलाई सदुपयोग गर्नु ठूलो चुनौतीको विषय हो”, उहाँले भन्नुभयो, “त्यसका लागि सदस्यले वित्तीय साक्षरता प्राप्त गर्न जरुरी छ ।”

कार्यक्रममा कनकाई–२ का वडाध्यक्ष बलराम राई (प्रताप)ले मुलुकमा सहकारी र लघुवित्तको प्रवेश भएसँगै आमनागरिकमा वित्तीय पहुँच अभिबृद्धि भएको उल्लेख गर्नुभयो । “धनीपूर्जा नभएका मान्छेलाई समेत लघुवित्त र सहकारीले ऋण दिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक बृद्धिमा लघुवित्त र सहकारीको योगदान उच्च छ ।” पछिल्लो समय वित्तीय संस्थाहरुमाथि भइरहेको आक्रमणलाई परास्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले पछिल्लो समय मानिसमा वित्तीय पहुँच बढ्दै गएकोले वित्तीय साक्षरता आवश्यक रहेको बताउनुभयो । सदस्यले बिना धितो पैसा पाउने अवसर पाएको बताउँदै उहाँले त्यो पैसाको सदुपयोग नुहँदा पनि समस्या भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य निशा मगर, सुरुङ्गा जेसीजका महासचिव रिसबसिंह चहार, समूह प्रमुख सावित्रा बर्देवा, कल्पना गड्तौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविणकुमार भट्टराई लगायतको आतिथ्य रहेको कार्यक्रममा सदस्यहरुले नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा तालिम विभाग प्रमुख रञ्जना निरौलाले साक्षरता ज्ञान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सुरुङ्गा शाखा प्रमुख शिवराज विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला प्रमुख बसन्त चौधरीले गर्नुभएको थियो । २१ जिल्लामा कार्यक्षेत्र रहेको जीवन विकासमा ३ लाख २५ हजार सदस्य रहेको सुरुङ्गा शाखा प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार