काठमाडौंबाट यात्रु लिएर काँकरभिट्टातर्फ आईरहेको हायसका सहचालकमाथि सोमवार साँझ ७ बजे खुकुरी प्रहार भएको छ ।
झापाको कमल गाउँपालिकास्थित केर्खाको बस बिसौनीमा सोही गाडीमा यात्रुका रुपमा काठमाण्डौबाट चढेका यात्रुले सहचालक सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने २१ वर्षिय माधव पौडेलमाथि खुकुरी प्रहार गरेर सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यात्रु ओराल्न रोकिएको बेला सहचालकमाथि एक्कासी खुकुरी प्रहार भएको हायसका चालकले बताउँनुभएको छ ।
बा ४ ख २९६५ नम्बरको उक्त हायसका घाइते कर्मचारी पौडेलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाईतेको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घाँटी र डढेल्नोमा गहिरो चोट लागेका सहचालक पौडेलको स्थानीय लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिलेमा प्राथमिक उपचार पछि थप उपचारका लागि बीएण्डसी अस्पताल रेफर गरिएको हो ।
काठमाडौंबाट झापाको केर्खासम्म आएका ती यात्रुले हायसका सहचालक पौडेलसंग दिउँसोदेखि नै विवाद गरिरहेका थिए । प्रहरीले आक्रमण गर्ने इलाम चुलाचुलीका एक लिम्बु थरका युवा रहेको खुलिसकेको उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो ।
इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले आक्रमणकारीको खोजी कार्य शुरु गरेको समेत रिजालले बताउँनुभयो ।