Friday, October 18, 2024

बिर्तामोडमा माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्कायो

Share

झापा । बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । राजस्थान घर बताउने उनीहरुलाई पक्राउ गरी भारत फर्काएको हो ।

आज (मंगलबार) दिउँसो सडक तथा पसलहरुमा विभिन्न वहाना बनाएर माग्दै हिँड्नेको संख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोली सहित खोजतलास गर्ने क्रममा उनीहरुको समुह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

बसपार्कको एक होटलमा डेरागरी बसेको फेला पारेपछि उनीहरुलाई नगर प्रहरीले पक्राउ गरी अनारमनि प्रहरीको जिम्मा लगाएको हो ।पक्राउ परेकाहरु वसपार्कमा सुनिता शेर्माले सञ्चालन गर्दै आएको मौषम ताप्लेजुङ्ग होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक १ हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए ।

पक्राउ पर्नेहरु १२ जना बालबालिका सहित २४ जना रहेका छन् ।६ महिनाको बच्चा सहित नेपाल आएका उनीहरु प्राकृतिक विपत्तीकाकारण आफुहरुले घर सम्पती गुमाएकोले सहयोगको अपिल गरिएको कागज बनाएर माग्दै हिँड्ने गरेको पाइएको छ ।

बिर्तामोडमा चाड पर्व नजिकिएसंगै यस प्रकारका मगन्तेहरुको भिड बढ्ने गरेको पाइन्छ । पक्राउ गरीएका सबैलाई नगर प्रहरीको गाडीमा राखेर काँकरभिट्टा मेचीपुलमा लगेर छोडिएको र त्यहाँबाट भारत पठाइएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

नगरपालिकाले जनसरोकारका विषयलाई ध्यानमा राख्दै बिर्तामोडमा हुने विभिन्न प्रकारका गतिविधिहरुको कडाईकासाथ अनुगमन गर्दै आएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार