Friday, October 18, 2024

कोरियामा एकै साता दुई नेपाली कामदारको मृत्यु

Share

दक्षिण कोरिया — रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ ।

गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो ।उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए ।त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ ।

राजधानी सोलदेखि ३ सय किलो मिटर दक्षिण पूर्वी क्षेत्र छुङछन नाम्दोको बंगुर फार्ममा राई बिहीबार बेलुकासम्म काम गरिरहेका थिए ।शुक्रबार बिहान सबै काममा जाँदा पनि उनी नआएपछि कोठामा हेर्न जाँदा मृत अवस्थामा रहेको सोही काम्पनीमा काम गर्ने नेपालीले जानकारी दिएका छन् । ‘अहिले परिवार र दूतावासमा जानकारी दिएका छौं ।

सोमबारसम्म पोष्टमार्टमको रिपोर्ट आउँछ भनिएको छ । त्यसपछि शवलाई नेपाल पठाउने प्रक्रिया हुने रहेछ,’ झापाली समाज दक्षिण कोरियाका अध्यक्ष अजय श्रेष्ठले भने ।शव नेपाल पठाउन पैसा उठाउनु नपर्नेदक्षिण कोरियामा विभिन्न कारणले मृत्यु भएका नेपालीलाई यहाँ रहेका विभिन्न संघसंस्था मार्फत आर्थिक संकलन गरेर शव नेपाल पठाउने गरिएको थियो ।

नेपाल सरकारको तर्फबाट राजदूतावास मार्फत ५४ लाख वन (पाँच लाख ४० हजार) सहयोग दिने गरेको थियो भने कोरियाबाट नेपाल शव पठाउन झन्डै १ करोड २३ लाख वन (१२ लाख ३० हजार) भन्दा बढी लाग्ने गर्थ्यो । लामो सयमदेखि कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियामा मृत्यु भएका नेपालीको शवको सम्पूर्ण खर्च बेहोर्नु पर्ने माग राख्दै आएका थिए ।

तर पछिल्लो समय नेपाल सरकारकै खर्चमा शव नेपाल पठाउने गरिएको दूतावासका अधिकारीहरू बताउँछन् । ‘कोरियामा ईपीएस मार्फत आएर विभिन्न कारणले मृत्यु भएका नेपालीको शव पठाउन लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्छ । हामीले केही समय अघिदेखि नै यो प्रक्रिया सुरु गरेका छौं,’ नेपाली राजदूतावासका श्रम सहचारी चन्द्रकला वलीले भनिन् ।वलीका अनुसार नेपाल सरकारकै सम्पूर्ण खर्चमा शव नेपाल पठाउने गरिएको छ । त्यसैले पनि पहिले झैं आर्थिक संकलन गर्नु नपर्ने उनले बताइन् ।

सम्वन्धित

अन्य समाचार