Friday, February 14, 2025

जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको आसन्न निर्वाचनको तयारीलाई तिब्रता

Share

३० चैत २०८० कनकाई
जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको आसन्न निर्वाचनको तयारीलाई तिब्र पारिएको छ । कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि निर्वाचन सम्बन्धी कार्यलाई निर्वाचन समितिले तिब्रता दिएको हो ।
सोही क्रममा निर्वाचन समितिले शुक्रवार (आज) सामुदायिक बनको कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी बैशाख ६ गते हुने निर्वाचन कार्यक्रम सम्बन्धी जानकारी दिएको हो ।
सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिका संयोजक ददिराम पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो । मतदान गर्न कोही पनि उपभोक्ता तथा मतदाता बन्चित नहुन भनेर निर्वाचन समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेर निर्वाचनलाई सुरक्षित र ब्यवस्थित बनाएको संयोजक पोखरेलले बताउनुभयो।
आगामी बैशाख ४ गते राती १२ बजेदेखि चुनाव प्रचारप्रसार मौन अवधि रहने, ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतदान समय ३ बजेसम्म रहेपनि मतदान केन्द्रमा प्रवेश गरेका सवैलाई मतदान गर्न दिइने, सोही दिन साँझ ७ बजेदेखि मतगणना शुरु हुने निर्वाचन समितिको कार्यतालिका रहेको निर्वाचन समिति संयोजक पोखरेलले बताउनुभयो ।
मतदान गर्न आउने उपभोक्ताले अनिवार्य रुपमा बनबाट प्राप्त मतदाता परिचय पत्र लिएर आउनु पर्नेछ । मतदान गर्न बन समुहले जारी गरेको कार्डमा नाम भएका २ जना मध्ये एकले मतदान गर्न पाउने निर्वाचन समितिका सचीव इन्द्रपुलामी मगरले जानकारी दिनुभयो ।

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिका लागि निर्वाचन हुन लागेको समितिमा ६ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका भएपनि आधिकारिक घोषणा हुन भने बाँकि रहेको निर्वाचन समितिका सदस्य भुवन खतिवडाले जानकारी दिनुभयो । उनका अनुसार अन्य पदका लागि भने बैशाख ६ गते निर्वाचन हुनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका सदस्य गीता अधिकारी र बिनिता श्रेष्ठको पनि उपस्थिति रहेको थियो । बैशाख ६ गते हुने बन समुहको निर्वाचनमा तीन वटा प्यानलले उम्मेद्वारी दिएका छन् । पर्शुराम गिरीको नेतृत्व, सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहाराको नेत्तुत्वमा प्यानल खडा गरी उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन् ।

सम्वन्धित

अन्य समाचार