राम निरौला,/झापाको कनकाई— १ प्रजापति स्थित श्री सिद्धेश्वर शिवालय मन्दिरमा भागवत सप्ताह महापुराण संचालन हुने भएको छ ।
मन्दिर संचालनार्थ अक्षयकोष निर्माण, भौतिक पुर्वाधार साथै संरचना पुनःनिर्माण गर्ने उद्येश्यका साथ यहि माघ २०देखी २६ गते सम्म संचालन हुने महापुराणका विषयमा आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
यस अघि नै निधन भइसकेका स्थानीयबासी स्व.काशीनाथ भट्टराई र स्व.वेदमाया भट्टराईको नाममा छोराबुहारी चेतनाथ भट्टराई र लिलादेवी भट्टराईले वि.सं.२०६७ मा स्थापना गरेको सिद्धेश्वर शिवालय मन्दिर परिसरमा महापुराण संचालन हुने बताइएको छ । मन्दिरलाई थप व्यवस्थित बनाउँदै दिर्घकालिन रुपमा संचालनार्थ अक्षयकोष निर्माणलाई प्राथमिकतामा राखिएको पुराण आयोजक समितिका अध्यक्ष कपीलमनी अधिकारीले जानकारी दिए ।अध्यक्ष अधिकारीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाट कार्यक्रममा स्थानीय वुद्धिजीवी ताराप्रसाद खनाल, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मातृका पोखरेल, स्थानीय समाजसेवीहरु लक्ष्मीप्रसाद अधिकारी, शम्भु सुस्केरा(ढकाल), मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेशमणि बास्कोटा लगायतले आ—आफ्ना धारणा राखेका थिए ।
महापुराणको प्रमुख कथा वाचकमा पं.पुण्यप्रसाद गुरागाईँ र उपवाचकमा पं.सुवास ढकाल रहेको जनाइएको छ । महापुराण सम्पन्न गर्न आयोजक समितिले विभिन्न उपसमिति समेत निर्माण गरिएको आयोजक समितिका सचिव तिलचन रिजालले जानकारी दिए । महापुराणबाट २० लाख संकलन गर्ने लक्ष्य राखिएको सचिव रिजाल बताउँछन् । हाल सम्म दाता परिवारकै सहयोगबाट पुजा व्यवस्थानमा सहजीकरण हुँदै आएको बताइएको छ ।
महापुराणलाई भव्य रुपमा सम्पन्न गर्नकालागी संयोजक सहित विभिन्न उपसमितिहरु गठन गरिएको छ । जस अनुसार आर्थिक व्यवस्थापनमा संयोजक गणेश पौडेल, प्रचारप्रसारमा संयोजक दिपेश रिमाल, स्वयंसेवक परिचालनमा संयोजक शान्तीराम बराल, मण्डप व्यवस्थापनमा संयोजक भक्ति काफ्ले, संघसंस्था समन्वयमा संयोजक ईश्वर सुवेदी रहेका छन् ।
त्यस्तै प्रसाद व्यवस्थापनमा संयोजक मेनुका कटुवाल, वैदेशिक समन्वयमा संयोजक माधव बराल, अतिथी सत्कारमा संयोजक सरीता काफ्ले, कलश यात्रा व्यवस्थापनमा संयोजक जानुका न्यौपाने, भक्तजन तथा खाद्य व्यवस्थापनमा संयोजक गान्धारा आचार्य, प्राविधिक व्यवस्थापनमा संयोजक नेत्र लामिछाने, प्रमाण पत्र लेखन तथा व्यवस्थापनमा संयोजक गोविन्द चौहान, यातायात व्यवस्थापनमा संयोजक सुमन ढकाल, पुजा सामाग्री व्यवस्थापनमा संयोजक विन्दा भट्टराई रहेका छन् । महायज्ञको सल्लाहकार संयोजकमा भागवतदास काफ्ले रहेको बताइएको छ ।
महापुराण संचालनको उद्येश्य पवित्र भएकाले स्वदेश तथा विदेशमा समेत रहेका सम्पूर्ण धर्मप्रेमी महानुभावहरुलाई आयोजक समितिले सहयोगको अपेक्षा राखेको बताइएको छ ।