नारी दिवसमा कनकाईका सबै वडामा सम्मान सहित साँस्कृतिक कार्यक्रम
राम निराैल \ झापाको कनकाई नगरपालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरका सबै वडामा सम्मान सहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ को दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँने गरिएको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-diwasward-n-32-1024x576.jpg)
विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी बताउँछिन् ।
हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको बताइएको छ । यसै क्रममा नारी दिवसमा हरेक वर्ष एकै स्थानमा नगर स्तरीय कार्यक्रम संचालन गर्दै आएको कनकाई नगरपालिकाले यस पटक उपप्रमुख आशा शिवाकोटीको पहलमा नगरका नौ वटै वडामा अलग —अलग कार्यक्रम सम्पन्न भएका छन् ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-diwasward-52-1024x576.jpg)
नगरपालिकामा केन्द्रिकृत हुँदा सबै महिलाहरुमा नारी दिवसका बारेमा जानकारी हुन कठिन हुने भएकाले विकेन्द्रिकृत धारणा अनुरुप कार्यक्रम आयोजना गरिएको उपप्रमुख शिवाकोटी बताउँछिन् । सोही अनुरुप नगर क्षेत्रका नौ वटै वडामा वडा समितिका महिला सदस्य संयोजक रहने गरी निर्माण गरिएको आयोजक समितिको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।
जस अनुसार कनकाईको वडा नं.१ले वडास्थित कालिका शक्तिपीठ (मैनाली भवन) मा सम्मान सहित विविध सांस्कृतिक कार्यक्रमका साथ नारी दिवसलाई भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रम संयोजक वडा सदस्य सञ्जिता घतानी ल्वागुनको अध्यक्षता एवं संविधान सभा सदस्य अम्बिका राजवंशीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चार जना उद्यमी महिलालाई सम्मान गरिएको छ ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-Diwas-kanakai-1-1024x683.jpeg)
यसरी सम्मानित हुनेहरुमा व्यसाय सञ्चालन गरी आफैँ आत्मनिर्भर र आर्थिक उपार्जन गरिरहेकी कनकाई–१ की अपाङ्गता भएकी मेनुका अधिकारी, युवा उद्यमी इन्दिरा पाण्डे भण्डारी, एकल महिला कला थापा र एकल महिला सूर्यकुमारी जोगीलाई सम्मान गरिएको हो ।
वडा सचिव कमला विश्वकर्माले स्वागत तथा वडा सदस्य निर्मला खड्काले संचालन गरेको कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, कनकाई नगरपालिका महिला, बालबालिका शाखा प्रमुख टिका खतिवडा, प्रगतिशील वडा स्तरीय बाल क्बलका अध्यक्ष उर्मिला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै वडा नं.२ मा वडाअध्यक्ष बलराम राईको अध्यक्षता एवं २०५४ की महिला वडासदस्य जेष्ठ माता एकादेवी खबासको प्रमुख आतिथ्य रहेको कार्यक्रममा तीनजना असहाय जेष्ठ माता, एक उद्यमी महिला सहित चारजनालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा हस्तमाया थापा, आइतमाया बि.क., गायत्रा न्यौपाने र उद्यमी महिला शान्ता कार्की रहेका छन् ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Ward-N.2-Nari-Diwas-1024x768.jpg)
वडासदस्य राधाकुमारी वि.क.ले स्वागत तथा कार्यक्रम संयोजक नरादेवी मगरले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा पुर्व जनप्रतिनिधि उर्मिला चापागाईँ, जानकी आधारभुत विद्यालयकी प्रधानाध्यापक इन्दिरा पाठक, सुकेडाँगी सामुदायिक वन समूहकी अध्यक्ष शान्ता उपाध्याय, जामुनबारी टोल विकास संस्थाकी कोषाध्यक्ष मुना गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जामुनवारी कृषि सहकारी संस्थाको विशेष सहयोग रहेको कार्यक्रमको दोस्रो सत्रमा लोकप्रिय गायक भक्त बि.क., बाँसुरी बादक ओम कडेल लगायतको विशेष प्रस्तुती सहित सांगितीक कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक नरादेवी मगरले जानकारी दिएकी छन् । कार्यक्रमको संचालन आयोजक समिति सदस्यद्वय रेणुका खबास र वविता गिरीले संयुक्त रुपमा गरेका थिए ।
त्यस्तै कनकाईको वडा नं.३ मा समेत एक विशेष समारोहका विच साँस्कृतिक प्रस्तुती सहित ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
कार्यपालिका सदस्य एवं आयोजक समिति संयोजक कृष्णमाया भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जेष्ठ माता ९२ वर्षिय कौशिला बुढाथोकी, अवकाश प्राप्त शिक्षिका सुमित्रा उप्रेती र रोहिता खतिवडालाई सम्मान गरिएको छ । नारी दिवसकै अवसरमा आयोजक समितिले औपचारिक कार्यक्रम संचालन हुनु अघि नेपाली महिला आन्दोलनकी अगुवा महिला योगमाया न्यौपानेको शालिकमा माल्यार्पण गर्दै उनको व्यक्तित्वको चर्चा गरिएको थियो ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-diwas-ward-N-33-1024x576.jpg)
आयोजक समिति सदस्य सुस्मा परियारले स्वागत एवं कार्यक्रम संयोजक कृष्णमाया भुजेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, कनकाई नगर अस्पतालका अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी झापाका सदस्य रविन्द्र लम्साल, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति बालकृष्ण प्रसाईँ, जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक सुस्मा कुमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रतियोगितात्मक साँस्कृतिक प्रस्तुती रहेको साँगितीक कार्यक्रमको निर्णायक मण्डलीमा अमन गुप्ता र सुमित्रा उप्रेती रहेका थिए । कार्यक्रमको संचालन आयोजक समिति सदस्य राधिका ओली कडरीयाले गरेकी थिइन् ।
त्यस्तै अन्तर्राष्ट्रिय नारी दिवशकै अवसर पारेर कनकाईको वडा नं. ४ को कार्यालयले आफ्नो वडाभित्र रहेका सय बर्ष वढी उमेरका माताहरुलाई सम्मान गरेको छ ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/nari-diwas-kanakai-4-1024x836.jpg)
वडाअध्यक्ष रोशन सुवेदी, वडासदस्यहरु मोहन संग्रौला, मन्दिरा विक, लक्ष्मी कटुवाल, शेषप्रसाद प्रसाई लगायतले घरघरमै पुगेर एक सय बर्ष भन्दा वढी उमेरका माताहरु कौशिला ओझा, गीतादेवी पोखरेल, तिलरुपा खत्री र मनमाया रिजाल तथा प्राण घातक रोग लागेका जेष्ठमाता र पुर्णतया अपाङ्ग भएका सहित २० जना माताहरुलाई घरमै पुगेर सम्मान गरिएको वडाअध्यक्ष रोशन सुवेदीले जानकारी दिए । माताहरुको दिर्घजीवन र रोगसँग लड्ने क्षमता प्राप्त होस भनि उनीहरुलाई सम्मान गरेर नारी दिवस मनाइएको वडाअध्यक्ष सुवेदीले बताए ।
नारी दिवसकै अवसरमा कनकाईको वडा नं.५ मा शुभकामना आदानप्रदान सहित विभिन्न सांगितीक कार्यक्रम सम्पन्न भएको छ । कार्यपालिका सदस्य समेत रहेकी सावित्रा बर्देवाको अध्यक्षता एवं नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष कृष्णवहादुर राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-DiwasWard-N-51-1-1024x576.jpg)
कार्यक्रममा जेष्ठ माता १०२ वर्षिय दिलमाया राई, ९७ वर्षिय रञ्जना दहाल त्यस्तै श्रमिक महिला मैजुन मिया र सुरजमणि किस्कुलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक समितिले जनाएको छ । विभिन्न विद्यालयका विद्यार्थी, भजन मण्डली, टोल विकास संस्था लगायतको बेग्ला बेग्लै सांगितीक प्रस्तुती रहेको कार्यक्रममा पुर्व शिक्षक भीमवहादुर लिम्बू, जेष्ठ नागरिक संघका वडाअध्यक्ष पुण्यप्रसाद ओझा, भावना भारती योगी लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै विद्यार्थीहरु अनिशा रसाइली, प्रेरणा ओलीले समेत कविता र गायन प्रस्तुत गरेका थिए भने वडास्थित विभिन्न महिला समूह, विद्यालयका विद्यार्थीहरुको समेत सांगितीक प्रस्तुती रहेको बताइएको छ ।
आयोजक समिति सदस्य इन्दिरा अधिकारीको स्वागत तथा कार्यक्रम संयोजक सावित्रा बर्देवाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन वडा कार्यालयकी कर्मचारी निर्मला बास्कोटा नेम्माङले गरेकी थिइन् ।
नारी दिवसकै अवसर पारेर कनकाईको वडा नं.६ मा समेत शुभकामना आदानप्रदान सहित सम्मान कार्यक्रम सम्पन्न भएको छ । आयोजक समितिकी संयोजक कुमारी द्रौपदा गौतम आचार्यको अध्यक्षता एवं चम्पापुर मावि व्यवस्थापन समिति अध्यक्ष अग्रज महिला खिनमाया बस्नेत(सीता) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा वडा नं.६ अन्तर्गतका पाँचजना असल बुहारी, एकजना उद्यमी महिला र अन्य जेष्ठ माता गरी २० जनालाई विशेष सम्मान गरिएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिएकी छन् । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसहित म्युजिकल चेयर, तातो आलु जस्ता मनोरञ्जनात्मक खेल प्रदर्शन गरिएको थियो ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-diwas-kanakai-6-1024x461.jpg)
वडा कार्यालयका कर्मचारी फणिन्द्र गिरीको संचालन तथा आयोजक समिति सदस्य गंगा काफ्लेले संचालन गरेको कार्यक्रममा सम्मानित उद्यमी महिला सविता खनाल, पुर्व जनप्रतिनिधि सारदा घिमिरे, पारिजात शिक्षा निकेतनकी शिक्षिका स्वस्तीका भण्डारी, चम्पापुर माविकी शिक्षिका तारा दर्नाल, टोल विकास तर्फका प्रतिनिधि दुर्गा कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नारी दिवसकै अवसरमा कनकाईको वडा नं.७ मा जेष्ठ माता, उद्यमी महिलासहित सात जनालाई सम्मान गरिएको छ ।
वडामा रहेका तीन जना जेष्ठ माता, दुई जना महिला उद्यमी, एक महिला समूह र एक जना शिक्षासेवीलाई सम्मान गरिएको हो । कार्यक्रममा जेष्ठ माताहरू पुण्यकुमारी पौडेल, मनमाया राय र नरमाया उप्रेतीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको छ ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/nari-diwas-kanakai-7-1024x683.jpeg)
त्यस्तै पूर्व शिक्षिका मनकुमारी चुडाल, महिला उद्यमीद्वय मनिता चेम्जोङ, अम्बिका कुइँकेल र मखमली महिला समूहलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुशीला कन्दङ्वा, वडाअध्यक्ष भीष्मभुषण सिटौला लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा वडाअध्यक्ष भिष्मभुषण सिटौला, नेकपा माओवादी केन्द्रका वडा समिति अध्यक्ष अनिरुद्र चापागाईं, संघीय लोकतान्त्रिक मञ्चका महेन्द्र कन्दङवा, ज्येष्ठ नागरिक संघका अध्यक्ष हरिप्रसाद शिवाकोटी, नगरस्तरीय बाल क्लबका अध्यक्ष अश्लेषा कडेल, सीता ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न भजन–कीर्तन समूहले भजन, महिला सम्बन्धी गीत, बालबालिकाहरुले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । वडा सदस्य सावित्रा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव तुलसा थापाको स्वागत तथा वडा सदस्य अरुणा सुब्बाले कार्यक्रमको संचालन गरेकी थिइन् ।
नारी दिवसकै अवसरमा कनकाईको वडा नं.८ मा समेत शुभकामना आदानप्रदान सहित सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडाअध्यक्ष लिलाबहादुर कटुवालको अध्यक्षता एवं कनकाई नगरपालिकाकी प्रशासकीय अधिकृत जमुना कटुवालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाका जेष्ठ माता सहित उत्कृष्ठ विद्यार्थी सम्मानित भएका छन् ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Nari-Diwas-kanakai-8-1024x768.jpg)
यसरी सम्मानित हुनेहरुमा जेष्ठ माताहरु नर्वदा कटुवाल र कृष्णमाया कमिनी, गएको एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रा तर्फकी समिक्षा मिश्रलाई विशेष सम्मान गरिएको छ । वडाअध्यक्ष कटुवालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहभागीहरुलाई वडासदस्य कविता बि.क.ले शाव्दीक स्वागत गरेकी थिइन् ।
कार्यक्रम संयोजक समेत रहेकी रीता उप्रेतीले संचालन गरेको कार्यक्रममा वडास्थित पुर्व जनप्रतिनिधि सुनिता खरेल सिग्देल, नेकपा एमाले वडाअध्यक्ष टिकाप्रसाद घिमिरे, हिमाली माविका प्रधानाध्यापक धर्मानन्द निरौला, टोल विकास तर्फका ईन्द्रप्रसाद रिजाल, वडा बालक्लवकी रुजा कडेल, महिला समूह तर्फ उषा मैनाली, अनिता राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नारी दिवसकै अवसरमा कनकाईको वडा नं.९ ले समेत शुभकामना आदानप्रदान सहित विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कनकाई नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख टिका खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा तीनजना पुर्व स्वयंसेवीका र एकजना हिंसापिडित महिलालाई सम्मान गरिएको छ ।
![](https://kanakaikhabar.com/wp-content/uploads/2024/03/Naari-3-1024x768.jpg)
यसरी सम्मानित हुनेहरुमा वडास्थित पुर्व स्वयंसेविका कुलकुमारी मिश्र, यज्ञश्वरी ढकाल, योगमाया न्यौपाने र हिंसा पिडित महिला गगनश्वरी राजवंशी रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमकी प्रमुख अतिथी नगर उपउपप्रमुख आशा शिवाकोटी, वडाका कार्यबाहक वडाअध्यक्ष नरमान श्रेष्ठ लगायतले दोसल्ला, माला साथै मायाको चिनो प्रदान गरेका थिए ।
वडा सदस्य तारा दर्नालले सहभागीहरुलाई शाव्दीक स्वागत गरेको कार्यक्रममा कार्यबाहक वडाअध्यक्ष श्रेष्ठ, नेकपा एमाले वडा नं.९ का अध्यक्ष गोविन्द उप्रेती, अग्रज महिला नेतृ नर्वदा संग्रौला, आमा समुह कनकाई वडा नं.९ की अध्यक्ष झुमा आचार्य बेडारी, बालमैत्री नगर अभियानकी अभियानकर्ता सरीता मगर, जेष्ठ माता कृष्णमाया खबास लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नारी चेतना सक्षम संस्थाकी अध्यक्ष मुना उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रमको अवधिभर वडास्थित विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्था, विभिन्न भजन मण्डलीका महिला समूहको नृत्य, गीत, कविता लगायतका प्रस्तुतिका कारण कार्यक्रमले थप सफलता हात पारेको बताइएको छ ।