२३ माघ २०८०,चन्द्र बस्नेत
कनकाई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक लगानी र व्यवस्थापनमा गर्न सकिने व्यावसायिक परियोजनाहरूमा युवाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
मङ्गलबार झापाको शिवसताक्षी–४ सालमारामा झापा इनर्जी लिमिटेडले निर्माण गरेको १० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले युवाहरुलाई उद्यमशील बनाउन जरुरी भएको बताउनुभयो । अधिकांश युवा जागिर खाने मनस्थितिमा रहेको जनाउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अब जागिर होइन उद्यमी बन्न युवाहरूलाई प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । सामूहिक लगानी र व्यवस्थापनमा आय आर्जन हुने खालका परियोजनाहरूमा लगानी गर्न सके आर्थिक विकास र समृद्धिका लागि धेरै समय नलाग्ने एमाले अध्यक्ष ओलीको तर्क थियोे ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/FB_IMG_1707223303665.jpg)
ऊर्जाको प्रयोगमार्फत कृषिमा आधुनिककरण सकिने बताउँदै एमाले अध्यक्ष ओलीले युवाहरूको विदेश पलायन रोक्न सरकारले व्यावसायिक योजना बनाएर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र– ४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताए । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/FB_IMG_1707223326917.jpg)
ठूलो क्षेत्रमा लस्करै राखिएका सोलार प्यानलका कारण यस ठाउँको सौन्दर्य पनि बढेको छ । आसपासका गाउँहरुबाट सोलार परियोजना हेर्न र तस्विर खिच्न मानिसहरुको भिडभाड लाग्ने गरेको छ । यो परियोजना निर्माणका लागि ७५ प्रतिशत रकम माछापुच्छ्र्रे बैंक र हिमालयन बैंकले लगानी गरेको छ । आयोजना स्थलबाट बुलुचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/FB_IMG_1707223243695-1024x630.jpg)
सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ । परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/FB_IMG_1707223224454-1024x683.jpg)