Monday, December 2, 2024

नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवनमा निषेध गरेको भन्दै कनकाई नगरपालिका सम्मानित

Share

२१ माघ २०८० चन्द्र बस्नेत/ कनकाई

नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवनमा निषेध गरेको भन्दै झापाको कनकाई नगरपालिका सम्मानित भएको छ।


कनकाई नगरपालिकालाई नेपाल क्यान्सर फाउडेशन , बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र रोटरी क्लव अफ मिट टाउनसँगको सहकार्यमा सम्मान गरेको हो। विश्व क्यान्सर दिवसको अवसर पारेर आइतवार (आज) झापाको बिर्तामोडमा नेपाल क्यान्सर फाउडेशनका सस्थापक अध्यक्ष तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्रकुमार यादवले सम्मानपत्रसहित कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उप प्रमुख आशा शर्मा शिवाकोटी समेतलाई सम्मान गर्नुभएको हो।

नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु रोग, दीर्घ स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भुमिकाको उच्च मुल्याङ्कन गर्दै भन्दै नगर प्रमुख पोखरेल र उप–प्रमुख शिवाकोटीलाई सम्मान गरिएको हो।


सम्मानसँगै थप जिम्मेवारी आएको बताउँदै कनकाई नगर प्रमुख पोखरेलले यो सम्मानको कदर गर्दै यसलाई जोगाएर राख्ने प्रतिवद्धता जनाउनुभयो।
नगरप्रमुख पोखरेलले क्यान्सरको एक तिहाइ कारक तत्त्वहरूमध्ये सुर्तीजन्य वस्तु तथा जाँड–रक्सीको प्रयोग नै रहेकोे भन्दै यी सामग्री सेवन तथा बिक्रीमा झापाका सबै पालिका लाग्नुपर्नेमा जोड दिनुभयो ।क्यान्सर रोगसँग सम्बन्धित अभियानलाई हरेक पालिका सम्म पुर्याउँन अनुरोध गर्दै नगर प्रमुख पोखरेलले अभियानमा कनकाई नगरपालिकाको पूर्ण साथ रहने विश्वास दिलाउनुभयो। नगर प्रमुख पोखरेलले नागरिकको स्वास्थ्यलाई स्वस्थ राख्न झापाका पालिका प्रमुख ,उपप्रमुखको फोरमबीच छ्लफल चलाई गम्भीर भएर अगाडी बढने जिकिर गर्नुभयो ।

नगर प्रमुख पोखरेले कनकाईमा अघिल्लो वर्ष ६१ जनामा र यो आर्थिक वर्ष अहिलेसम्ममा ४० जना बढीमा यो रोग देखा परेको जानकारी गराउनुभएको थियोे । अस्पतालले क्यान्सर दिवसका अवसरमा बिर्तामोडमा झापाका १५ वटै स्थानीय तहका प्रमुख साथै बिभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिका स्वास्थ्य सम्बन्धी अन्तक्रिया आयोजना गरेको थियो ।

सोही कार्यक्रमकाबीच कनकाई नगर प्रमुखलाई सुर्तिजन्य पदार्थ नियन्त्रण गरेको भन्दै सम्मान गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस बिर्तामोड २ का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, कनकाई नगर प्रमुख पोखरेल, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरप्रमुख मेगाहङ थोप्रालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।यसैबीच ,

नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको पाइएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको जानकारी दिनुभयो । निर्देशक मरासिनीले नेपालमा प्रत्येक वर्ष झन्डै २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताउनुभयो ।

सन् २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्राको क्यान्सरका बिरामी बढी देखिने गरेका महाशाखाका निर्देशक मरासिनीले बताउनुभयो । उहाँका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सो, आमाशय, मुख तथ मुखजन्य क्यान्सर बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुख रस्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो । विश्वको तथ्याङ्कअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । क्यान्सरको एक तिहाइ कारक तत्त्वहरूमध्ये सुर्तीजन्य वस्तु तथा जाँड–रक्सीको प्रयोगल्व नै हुने गरेको जानकारी गराईएको थियोे ।

सम्वन्धित

अन्य समाचार