काठमाडौं: काठमाडौंस्थित भारतीय राजदूतावासमा मिति भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भयो ।

सो अवसरमा वहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरियो ।
माननीय राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान-३ मिशन बारे चर्चा गर्नुभयो ।
कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ने.रु. ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो ।

सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भू.पू-२०२४ पत्रिकाको लोकार्पण गर्यो ।
राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गर्नुभयो । दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई ने.रु.१९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गर्दैछ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरियो । नेपालमञ्चबाट