झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको भाटभटेनी सुपर मार्केट निर्माणको सम्पूर्ण काम पुरा भएको छ । भौतिक निर्माण सगै भित्री सजावटको काम पनि पुरा भएको छ।
आगामी असोज ४ गते बिहीवार औपचारिक उद्घाटन गर्ने लक्ष्यका साथ काम सम्पन्न भएको कम्पनीका मेनेजर विनोद भट्टराईले जानकारी दिनुभयो ।
गत ११ महिना अघि देखि निर्माणकार्य सुरु भएको यस सुपरमार्केट नेपालका लागि चमत्कारी ढंगबाट निर्माण कार्य भएको एक परियोजना नै बन्न पुगेको छ । निर्माण शुभारम्भको छोटो अवधीमा नै २४ सै घण्टा निरन्तर काम गरेर हाल भाटभटेनीले यो सफलताको परिणाम प्राप्त गरेको हो देख्न सकिन्छ।
उद्घाटनको अवसरमा भाटभटेनीले समाजिक उत्तरदायित्व अन्तरगत केही प्रभावकारी काम पनि गरेको छ । भाटभटेनी कम्पनीले भगवान चोक देखि हेवन वाटरपार्क पस्ने मुख्य राजमार्गको उत्तर दक्षिण तर्फ कालोपत्रे सडकलाई चौडा गर्ने पुरा गरेको छ । त्यस्तै करिव ५ सय मिटर क्षेत्रमा सडक बत्ती जडानको काम पनि सम्पन्न गरेको कम्पनीका मेनेजर भट्टराईले जानकारी दिनुभयो । अहिले भाटभटेनी सुपर मार्केट रहेको कम्पाउन्ड बाहिर पनि व्यवस्थित पार्किङ स्थलमा ब्लक बिछ्याइ सुन्दर बनाएको छ।
काठमाडौं र इटहरी जस्तै सुविधा उपलब्ध हुने बिर्तामोड भाटभटेनीको लगानी दुई अर्ब रहेको बताइएको छ । हजारौं उपभोग्य बस्तु एकै छानामुनी उपलब्ध हुने भाटभटेनीमा दुईवटा सिनेमा हल र फुडकोड पनि रहेकोे छ। सातौँ तला सम्म रहेको भाटभटेनी झापाकै ठुलो सुपर मार्केट सावित बन्न पुगेको छ ।
सुपर मार्केटको क्षेत्रमा ब्रान्ड नै बनाउन सफल भाटभटेनी बिर्तामोडमा सञ्चालनमा आउने भएपछि स्थानीय उपभोक्ताहरू पनि उत्साहित भएका छन् । भाटभटेनी निर्माण भएपछि झापाकै एक आकर्षक व्यापारिक केन्द्र बनेको स्थानीय विकास कार्कीले बताउनुभयो ।
भाटभटेनी बिर्तामोड मुक्तिचोक देखि करिव १ किलो मिटर पश्चिममा रहेको पाँचतारे होटल द किङ्सवेरी सँगै जोडिएको छ ।