फिक्कलः ताप्लेजुङ्गको सिरिजङ्गा गाउँपालिकाबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई इलामको माईजोगमाई गाउँपालिकामा हाजिर गर्न नदिएको बताईएको छ । “ म आज कार्यालयमा ११ः३० बजे पुगेको थिएँ । रमनापत्र दर्ता भएपछि हाजिरिपत्र मागेँ । पोख्रेलले भन्नुभयो , “हाजिरिपत्र नै छैन भनियो मैले इ हाजिरिपत्र गर्न खोँजे त्यो पनि भएन । उहाँले गुनासो पोख्दै भन्नुभयो , “ म कार्यालयमा आएको त प्रमाण चाहिन्छ भनेर मुचुल्कामा सहि गरेर जान्छु भन्दा समेत सहयोग भएन ।” पाँच मिनेट हाजिर गरेर बिदा बस्छु भनेको भएपनि अध्यक्षको आदेशमा हाजिर नगर्नु नगराउनु भन्ने विषय पालिकामा पुगेपछि मात्र सुनेको पोख्रेलले बताउनु भयो ।
पटक पटक अध्यक्षको फोन नउठेकाले समस्या भएको उहाँको भनाई छ । मेसेन्जरमा कुराकानी गर्दा समेत हत्तपत्त रिप्लाई भएन । उहाँले भन्नुभयो , “रमनापत्र लिएको सात दिनभित्र हाजिर गर्नुपर्ने भएकाले मैले गएको शुक्रबार , आईतबार हाजिर गराउन आउँछु भनेको थिए । तर उहाँले कुनै रेस्पोन्स दिनुभएको छैन ।”
पालिकाका निमित्त कार्यलय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आउनु भएका पोख्रेलको पत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको बताउनु भएको छ । हाजिर किन भएन भन्ने प्रश्नमा उहाँले आफूलाई यो बिषयमा जानकारी नभएको बताउंदै पालिका अध्यक्षलाई सोध्न आग्रह गरेपछि यो बिषयमा पालिका अध्यक्ष कुश बहादुर थेबे सँग बुझ्दा आफू कार्यलय बाहिर रहेको कारण हाजिर हुन नसकेको प्रतिक्रिया दिनुभएको छ । अध्यक्षले हाजिर गर्न नदिएको आरोप लगाउँदै विभिन्न सन्चार माध्यम र सामाजिक सञ्जालमा अध्यक्ष थेवे विरुद्ध प्रश्न उठाईएको छ ।
उक्त सम्बन्धमा इलाम खबर संग कुराकानी गर्दै अध्यक्ष थेवेले आफु कार्यालय बाहिर भएकाले म आएपछि हाजिर गरौँला मात्र भनेको बताउनु भयो । “स्काई जी ले कार्यालयमा आएर मलाई फोन गर्नुभएको थियो ।” अध्यक्ष थेवेले भन्नुभयो, “मैले म कार्यालयमा आएपछि दर्ता गरौँ भनेँ । उहाँको ताप्लेजुङ्गमा अडिटको काम बाँकी नै रहेछ । त्यो सकेर आउनुहोस् म पनि कार्यालयमा आउँछु, भेटेर मात्र दर्ता गरौँला भनेको हुँ । उहाँले हुन्छ भन्नुभएको थियो ।” तर सामाजिक सन्जालमा भने दर्ता गर्नै नदिएको भन्दै गलत प्रचार गरिएको थेवेले बताउनुभयो ।”
माईजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले कार्यालयमा महिला कर्मचारी संग गरेको अनैतिक क्रियाकलापको घटनाले पलिकामाथी नै प्रश्न उठेकाले नयाँ कर्मचारीलाई स्वागत गर्न हतार गर्न नहुने उहाँको आशय छ । “स्काई जी ट्यालेन्टेड र इनर्जेटिक हुनुहुन्छ भन्ने सुनेको छु तर पनि हामीलाई विगतका घटनाले झस्काएको छ ।” उहाँले भन्नुभयो, “एकपटक आफैँले भेटेर मात्र पालिकामा भित्र्याउन चाहेको हुँ ।”
पालिकाका थुप्रै काम कारवाही ओझेलमा परिरहेकाले प्रशासनिक सेवा सुविधा चुस्त दुरुस्त बनाउन नयाँ कर्मचारी संग भेटेर समन्वय गर्न चाहानुलाई गलत रुपमा अपब्याख्या गरिएको भन्दै थेवेले गुनासो पोख्नुभएको छ ।
माईजोगमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत दुबै नहुँदा कार्यालयको कार्य सम्पादनमा समस्या भईरहेको छ ।