Tuesday, December 10, 2024

सुत्केरी उपचार प्रकरणः ३५ लाखमा जुट्यो सहमति

Share

बिर्तामोड,/ बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ ।

हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो ।अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार र प्रहरीबीच भएको छलफलमा एकमुष्ट ३५ लाख रुपैयाँमा सहमति जुटेको सुत्केरी सिर्जना संग्रौलाका काका हेमराज संग्रौलाले जानकारी दिए ।

उनका अनुसार सिर्जना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख रुपैयाँ राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख रुपैयाँ अस्पतालले दिने सहमति भएको उनले जानकारी दिए । झापा टुडेसँग कुरा गर्दै उनले भने, उपचार शुल्क पनि मनमोहन अस्पतालले नै व्यहोर्ने सहमति भएको छ ।

प्रसूति गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ वर्षीया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरबाहीका कारण अवस्था गम्भीर भएको थियो । डाक्टर एकराज गौतमले अपरेसन गरी बच्चा जन्मिसकेपछि सुत्केरीको उपचारमा लापरबाही गरेको आरोप छ ।मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासिटी अस्पताल लगिएको थियो ।

बिर्तासिटी अस्पतालमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था थप जटिल बनेको प्रशासन विभाग प्रमुख विनोदकुमार बस्नेतले जानकारी दिए ।उपचार गर्दा सुत्केरीको अवस्था जटिल भएपछि उनका आफन्त र मनमोहन अस्पताल प्रशासनबीच विवाद उत्पन्न भएको थियो ।

विवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पताल परिसरमा सयौँ प्रहरी परिचालन गरेको थियो । मंगलबार पनि अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिएको थियो ।यसैबीच, पीडित परिवार र अस्पताल प्रशासनबीच भएको वार्ताले सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । उपचारमा संलग्नहरुको विभागीय कारबाही हुने बताइएको छ ।

सम्वन्धित

अन्य समाचार