मोरङको रंगेली नगपालिका–७ मुख्य बजारको ओम शान्ति ज्वेलर्सका सञ्चालक पवनकुमार सोनी फरार भएका छन् ।
करोडौँ मूल्य बराबरको सुनचाँदी र नगद लिएर व्यवसायी सोनी परिवारसहित फरार भएको स्थानीयले बताएका हुन् ।रंगेली र सुनवर्सी नगरपालिका लगायतका स्थानका सयौँ सर्वसाधारणको सुनचाँदी सोनीले धरौटीमा राखेका थिए ।
रंगेली–७ का अजय रायले तमसुक बनाएर आफूले २१ लाख रुपैयाँ सोनीलाई दिएको बताए । घरको मुलद्वार तालाचाबी लगाएर उनीहरू भागेका हुन् । ओम शान्ति ज्वेलर्सले घर पनि लुम्बिनी विकास बैकमा धितोमा राखेर एक करोड रुपैयाँ ऋण लिएको र केही महिनादेखि ब्याजसमेत नतिरेको स्थानीयको दाबी छ ।
सोनीले रंगेलीका बैक तथा वित्तीय संस्थाहरूमा समेत ऋण लिएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले बताए । अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिन आउने स्थानीयको भीड बढेको छ । प्रहरीले प्रमाणसहित निवेदन दिन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । प्रारम्भिक उजुरी अनुसार अहिलेसम्म २ करोड ६५ लाख भन्दा बढी मूल्य बराबरको सुनचाँदी र नगद लिएर फरार भएको भन्ने उजुरी परेको छ ।