
कनकाइ, २९ असार ।
झापाको कनकाई नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ ।
आज बसेको १३ नगरसभाको चौथो बैठकमा नगर तथा वडाको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट सार्वजनिक एवम् पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरले उपलब्ध गराएको सिलिङ बजेटका आधारमा नगरका नौ वटै वडाले आ–आफ्नो आगामी वर्षको बजेट निर्माण गरेका छन् ।

कार्यक्रममा एक जना पत्रकारसहित दजनौं व्यक्तित्वलाई सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको छ । नगरपालिकाले पत्रकार चुडामणि तिम्सिना (सीएम शर्मा) लाई कनकाई विकास पत्रकारिता पुरस्कार–२०८० प्रदान गरेको छ । पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा सहयोग पुर्याएको भन्दै पत्रकार शर्मालाई नगद रू १० हजारसहित सम्मान पत्र प्रदान गरिएको हो ।

त्यस्तै, नगरपालिकाले नगरका तीन जना सेवा निवृत्त स्वास्थ्यस्वयम् सेविकालाई नगद रू एक लाखसहित सम्मान गरेको छ । स्वास्थ्य स्वम्सेविका देवीकुमारी पौडेल, सुमित्रा नेपाल र राधादेवी कोइरालालाई जनही रू एक÷एक लाख सहित सम्मानपत्र प्रदान गरियो भने नगर अस्पतालमा २७ वर्ष काम गरेर सेवा निवृत्त हुनुभएकी बरिष्ठ नर्स सरस्वती मास्केलाई समेत नगरपालिकाले सम्मान गरेको छ ।

त्यस्तै नगरपालिकाले उत्कृष्ट श्रमजीवि नागरिकका रुपमा लक्ष्मीप्रसाद दाहाललाई नगद रू १० हजारसहित सम्मान गरेको छ ।

यस्तै, नगरपालिकाले उत्कृष्ट कृषकका रुपमा झम्पराज आचार्य र रविलाल भट्टराई तथा उत्कृष्ट उपभोक्ता संस्थाका रुपमा ज्येष्ठ नागरिक भवन उपभोक्ता समितिलाई समेत सम्मान गरेको छ ।

यसैगरी, उत्कृष्ट करदाताका रुपमा राजकुमार राजवंशी, छत्रबहादुर कार्की, बुद्धिमान बोहोरा, पम्फादेवी खनाल, कुमारमणि पोखरेल, प्रफुल्ल पोखरेल र शम्भु साहलाई सम्मान गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा नौ जना कर्मचारीलाई सम्मान गरियो । नगरपालिकाका सूचना प्रबिधि अधिकृत खगेन्द्र मिश्र, इन्जिनियर विशाल थेवे, कार्यालय सहयोगी बबिता गदाइली, तारादेवी पोखरेल, हलुका सवारी चालक मजेबुल मियाँ, सोभित राई, स्वास्थ्यकर्मी समिक्षा खतिवडा र पबित्रा याक्सो तथा सह लेखापाल प्रकाश अधिकारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शर्मा शिवाकोटीले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नगरबासीको धेरै आवश्यकता र आकांक्षा भए पनि सीमित स्रोत र साधनका कारण सबै पूरा हुन नसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो । तर पनि जनप्रतिनिधि बनेर आफूहरु आएपछि दोब्बर विकास भएको उहाँको भनाइ छ । उपप्रमुख आशा शर्मा शिवाकोटीले आर्थिक अभावकै बीचमा योजनाहरुको प्राथमिकीकरण गरेर आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासककीय अधिकृत मोहनप्रसाद न्यौपानेले गर्नुभएको थियो ।