विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका तान्छोक लिम्बूको निधन भएको छ ।
८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।झापा धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बू हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा उनी शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए ।
सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेप्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोश अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।उनको चिन्ताजनक अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएकाले सुधार हुन कम्तिमा ४८ घण्टा पर्खनुपर्ने चिकित्सकलाई उद्धृत गर्दै अस्पतालका जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिएका थिए ।
बिरमीलाई सास फेर्न निक्कै गाह्रो भएपछि भेन्टिलेटरमा राख्ने गरिन्छ । भेन्टिलेटरमार्फत बिरामीको वायुमार्ग हुँदै फोक्सोमा अक्सिजन पुर्याउने काम गरिन्छ ।पानीमा डुब्दा पानी धेरै खाएकाले ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका थिए ।
समाचार Jhapa Today media बाट