कनकाई नगरपालिकाको नगर बाल अधिकार समितिले जोखिममा रहेका २ जना बालकहरुको उद्धार गरेको छ ।
विशेष जानकारीका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएको अन्दाजी ११ वर्षको बालक – १ र बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ११ वर्षको बालक – १ गरी २ बालकहरुलाई नगरपालिकाको बालकल्याण एकाईको नेतृत्वमा बाल हेल्पलाईन १०९८‚ विराटनगर र प्रहरी सहितको संयुक्त टोलीले जेठ ८ गते उद्धार गरेको हो ।
उद्धार गरिएका बालकहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्रकुमार पोखरेलको रोहवरमा नगर बाल अधिकार समितिका अध्यक्ष तथा उपप्रमुख श्री आशा शिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाईन १०९८‚ विराटनगरलाई हस्तान्तरण गर्नुभयो ।
जोखिममा रहेका बालबालिका भेटिए तत्कालै बाल अधिकार समितिहरु वा बाल हेल्पलाईनमा जानकारी गराउन बाल कल्याण अधिकारी उमानाथ ढकालले अनुरोध गर्नुभयो ।