Sunday, January 19, 2025

बाग्लुङको गलकोट नगरपालिकाका सार्वजनिक स्थलमा सीसी क्यामेरा जडान

Share

बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाका सार्वजनिक स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभूति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको बताए । 

प्रहरीको सीमित स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहुने भन्दै आपराधिक अनुसन्धानमा सहयोग पुर्याउन ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा प्रविधिलाई प्रयोगमा ल्याइएको उनले बताए ।
नगरपालिका भित्रका १९ स्थानमा २० वटा सीसी टिभी क्यामेरा जडान गरिएको छ । 

सीसी क्यामेरा सञ्चालनमा आएसँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन र राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सीसी क्यामेराले सहयोग गर्ने गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले जानकारी दिए । 

कार्यालयमा बसेर मध्यपहाडी लोकमार्ग क्षेत्र, मानिसको बढि मात्रामा जमघट हुने सार्वजनिक स्थानमा निगरानी गर्न सकिने र आपराधिक व्यक्तिको पनि पहिचान छिट्टै हुने भएकाले सीसी क्यामेरा जडान भएपछि सहज भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

सीसी क्यामेरा गलकोट नगरपालिकाको भ्यू टावर, दुदिलाभाटी बजार, नरेठाँटी बजार, नरेठाँटी पुलचोक, ढले पिपल, डाँडाखेत, हटिया सिवाईसि चोक, हटिया बजार, सिमखेत, घट्टेखोला, हटिया प्रगति चोक, भैंसेपुल, आँगाखेत चोक, बाँसखोला, मनसुन चोक, गलकोट नगरपालिका चोक, हरिचौर बजार, गलकोट नगरपालिका वडा नम्बर ५ नमस्ते चोक, र वडा नम्बर ६ मा जडान गरिएको छ । 

सम्वन्धित

अन्य समाचार