Thursday, February 6, 2025
Home Blog Page 7

बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर शुरु

बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर आज देखि शुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा शुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनुभयो । बिर्तामोडमा सामुदायिक कुकुरको वन्धायकरण हरेक वर्ष हुँदै आएको छ । यस वर्ष हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलव्ध गराएको छ । यस संस्थाका चिकित्सक सहित १२ जना भन्दा बढी जनशक्ति यस शिविरमा खटिएका छन्। यस वर्ष ५ लाख रुपैयाँ बजेट यस शिर्षकमा छुट्टिएको र सोहि अनुसार शिविर सञ्चालन गरीएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कुकुर वन्ध्याकरणको खर्च दुई हजार ६५० रुपैयाँ हुने गरेको छ ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।

पालिका उपचुनावमा ३१ जनाको उम्मेदवारी फिर्ता, तीन पदमा निर्विरोध

मंसिर १६ गते हुने पालिका उपचुनावको लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ३ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित भएका बाहेक अरु ३ सय ७६ जना उम्मेदवारलाई हिजो सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका मेयर, उपमेयर र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ

व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर अर्थात् झन्डै ३२ अर्ब नेपाली रुपैयाँ लगानी रहेको भन्दै प्रसाईंले हिजो बेलुका केही कागजात सार्वजनिक गरेका थिए ।देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिको नाम र हस्ताक्षर कीर्ते गरेर गलत विवरण तयार पारी भ्रम फैलाएको भन्दै सीआईबीको टोलीले प्रसाईंलाई उनको घर भक्तपुरबाटै पक्राउ गरेको हो । प्रसाईंले प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षरसहित विवरण सार्वजनिक गरे पनि नाम थर र हस्ताक्षर नमिलेकाले उनले गलत विवरण सार्वजनिक गरेर भ्रम फैलाएको आरोप लागेको छ ।

ओली सन् २०१९ मा एउटा बिजनेस सम्मेलनमा भाग लिन कम्बोडिया जाँदा त्यहाँको टेलिकम कम्पनीमा शेयर होल्डरको रूपमा ३२ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी गरेको प्रसाईंको जिकिर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको अनुमति

पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पनि अनुमति दिएको छ ।

यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो । जिल्ला अदालत काठमाण्डौले पनि सहकारी बचत रकम हिनामिना अनुसन्धानकै लागि पक्राउ गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको निवेदनमा अदालतले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछाने सहित गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ अनुमति दिएको छ ।

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

‘पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ’, प्रवक्ता गुरुङले भन्नुभयो, ‘राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।’ मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

महिला मृत्युदर कम गर्न निःशुल्क ‘एचपीभी’ खोप

आउँदो माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । यसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।

जंगली हात्तीले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु

जंगली हात्तीले आक्रमण गर्दा झापामा एक व्यक्तिको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको आज बिहान मृत्यु भएको हो।

जंगली हात्तीले बिहान सबेरै स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेपछि हात्ती भगाउँदा छिमेकी मीनबहादुरालाई १०० मिटर पर सम्म लखेटेर हात्तीले आक्रमण गरेको प्रहरीको भनाई छ।

अफगानिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० गोलले विजयी

नेपालले ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानमाथि २–० को जित निकालेको छ।

ताजिकिस्तानको राजधानी डुसान्बेमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सन् २०१३ को साफ च्याम्पियन अफगानिस्तानमाथि जित निकालेको हो। गत बुधबार नै घरेलु टोलीसँग ४–० को फराकिलो हारपछि दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपाल जित प्राप्त गर्न सफल भयो।

नेपालको जितमा जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। यससँगै नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि जित रच्यो। नेपालले पछिल्लोपल्ट सन् २०११ मा अफगानिस्तानलाई १–० ले हराएको थियो।

घरेलु मैदानमा भएको एएफसी च्यालेन्ज कपको क्वालिफायरमा भरत खवासको गोलमा नेपालले अफगानिस्तानमाथि जित दर्ता गरेको हो। त्यस पछिका दुई भेटमा भने नेपाल अफगानिस्तानसँग पराजित हुन पुग्यो।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अब नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

उपचुनावका लागि आज मनोनयन दर्ता हुँदै

मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपचुनावका लागि अस्ति शुक्रवार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर र उपमेयर एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपचुनाव हुँदैछ ।

डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायलको डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा दुई रुपैयाँ ५४ पैसा भारुले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।