Thursday, February 6, 2025
Home Blog Page 10

चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको मृत्यु

चितवनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएको थियो । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा.प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा .प्र ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको थियो ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका–१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्षीय पुरूषको मृत्यु भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेख दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम गर्न लागिएको हो ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायतको विस्तार गर्नेछ ।

यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान आठ बजेसम्मका सबै उडान कटौती हुनेछन् ।अहिले विमानस्थल बिहान छ बजे खुलेर राति दुई बजेसम्म सञ्चालन हुँदै आएको छ ।

छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् ।

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् ।

नेपालले पर्सि शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग,कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली अर्को वर्ष मलेसियामा हुने महिला विश्वकपमा छनोट हुनेछ ।

महिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटमा नेपालको विजयी सुरुवात

यूएईमा जारीमहिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११।४ ओभरमा ३५ रनमा अलआउट भयो। थाइल्यान्डलाई सस्तैमा अलआउट गर्न रचना कुमारीले चार विकेट लिइन् ।यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो।

नेपालका लागि कप्तान पुजा महतोले ३५, सोनी पाख्रिन र सिमाना केसीले समान १९ रन बनाए। थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन्। कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ।

आज छठको दोस्रो दिन आज ‘खरना’

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत)बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

महिला टी -२० विश्वकप एशिया छनोट खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकप एशिया छनोट खेल आजदेखि यूएईमा शुरू हुँदैछ । आज नेपालले थाइल्याण्डसँग खेल्दै छनोट यात्रा शुरू गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुने छ । प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली अस्ति सोमवार दुबई पुगेको छ ।

एशिया छनोट प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल्ने अन्य दुई टोलीमा थाइल्याण्ड र कुवेत छन् । चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ । हरेक टोलीले अर्को टोलीसँग २–२ खेल खेल्नेछन् । डबल राउण्ड रोविनको खेलहरुपछि धेरै अङ्क जोड्दै विजेता बन्ने टोली अर्को वर्ष मलेसियामा हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।

दशैं-तिहारमा दुर्घटना : कोशी प्रदेशमा ३७ जनाको मृत्यु ।

२० कात्तिक, विराटनगर ।

दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।

१७ असोज घटस्थापना देखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

सोमबार एकै दिन २८ स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको  छ ।

प्रहरीका अनुसार कोशी प्रदेशको १४ जिल्लामध्ये झापामा १३, मोरङमा ८, सुनसरीमा ७, उदयपुर, संखुवासभा र खोटाङमा २-२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा एक/एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९६१ जना  घाइते भएका छन् ।

प्रहरीको तथ्याङक अनुसार मोरङमा सबैभन्दा धेरै २१६ वटा दुर्घटना भएका छन् । झापामा १६५, सुनसरीमा १४६, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५/५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३/३, इलाम र ताप्लेजुङमा एक/एकवटा दुर्घटना भएका हुन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै ५१३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

रविलाई तेस्रो पटक अदालतमा प्रहरीले उपस्थित गरायो ।

२० कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासमा म्याद थपमाथि बहस सुरू भएकाे छ ।

लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।

लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।