निसान निरौला
कनकाई,कार्तिक २४
‘खोल्सीको सुन’ उपनामले चिनिने नगदेबाली अलैंचीको भाउ प्रतिमन लाख रुपैयाँ नजिक पुगेको छ ।
विक्री गर्ने मुख्य सिजनमै राम्रो भाउ आएपछि इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका किसान उत्साही देखिएका छन् ।
अहिले इलामका बजारमा अलैंचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म छ । इलाम उद्योग वाणिज्य संघ अध्यक्षसमेत रहेका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले पुच्छर काटेको ठूलो दानालाई गुणस्तरीय मान्ने गरिएको बताउनुभयो । ‘अचेल अलैंचीको गुणस्तर हेरेर मूल्य दिन थालिएको छ,’, ‘राम्रो अलैंचीको राम्रो भाउ छ ।’ पौडेलको भनाइ रहेकोे थियोे ।
उहाँले २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको अहिले भाउ ०८० सालमा ६० हजार थियो । ‘हुन त १० वर्षअघि नै अलैंचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेकामा केही वर्ष निकै घटेको थियो,’ उनले भने, ‘अहिले फेरि भाउ आएपछि किसान उत्साही छन् ।’ अलैंची व्यवसायी संघसमेतमा आबद्ध व्यापारी पौडेलले अलैंची खेतीको क्षेत्र बढेको तर उत्पादकत्व घटेपनि किसानले पाउने मूल्य राम्रो रहेको जनाउनुभयो ।
अहिले अलैंची निकासी गर्न पनि कुनै समस्या नभएको उहाँको भनाइ छ । ‘अहिले भारत र तेस्रो मुुलुकसम्म यहाँको अलैंची गइरहेको छ,’ उनले भने, ‘विगतमा देखिनेगरेका अनेक झन्झट पनि अहिले चाहिँ छैनन् ।’
बिब्ल्याँटे बजार जिल्लाको अलैंची व्यापार हुने मुख्य बजार हो । मंगलबारे, फिक्कल, मानेभञ्ज्याङलगायत बजारबाट पनि अलैंची निकासी हुन्छ । इलाममा मात्रै बर्सेनि तीन अर्बभन्दा बढीको अलैंची कारोबार हुने व्यापारीको अनुमान छ । तर, यकिन तथ्यांक भेटिँदैन ।
दशकअघि फलको भाउ उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैंची लगाएका थिए । पुरानो अलैंची मासिएपनि नयाँ जातका अलैंची लगाएर किसानले बारी ढकाए । तर, भाउ घट्यो भने अलैंचीसमेत मासिँदैगयो । तर, फेरि भाउ उच्च भएपछि किसान अलैंची खेतीमा जाँगर चलाउँदैछन् ।
माइमझुवाका किसान गिरिराज खनालले अहिले ४५ रोपनीमा अलैंची खेती गर्दै आउनुभएको छ । उहाँले आफ्नो बगानमा गतवर्षभन्दा दोब्बर अलैंची अहिले फलेको बताउनुभयो । अलैंचीको भाउले आफूजस्ता युवालाई गाउँमै केही गर्न सकिन्छ भन्ने आशा जगाएको उहाँ बताउँनुहुन्छ। ‘अलैंचीको भाउ अहिले निकै राम्रो छ,’ उनले भने, ‘यस्तै भाउ कायम रह्यो भने धेरै युवाले गाउँघरै बसेर उद्यम गर्छन्, हामी उत्साही छौं ।’
करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा खनाल सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षसमेत हुनुभएको थियोे । उहाँ केही साताअघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत हुनुभयो । तर, खेती–किसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागिपरेको खनालको भनाइ छ।
‘अहिलेको अलैंची पहिलाको जस्तो एक चोटी रोपेपछि दशकौं आम्दानी दिइरहनेखालको छैन,’ उहाँका अनुसार ‘केही वर्षमा बोट परिवर्तन गर्दै नयाँ बिरुवा लगाइरहनुपर्छ ।’ खनालले अलैंची बिरुवा इलाममात्र नभई पूर्वीपहाडका विभिन्न जिल्लामा समेत विक्री गर्नुभएको छ। उहाँले अलैंची सुकाउने आधुनिक भट्टीसमेत सञ्चालन गर्नुभएको थियोे । नियमित रूपमा दुई जना र सिजनमा केही साता करिब पाँच सय जनालाई आफूले रोजगारीसमेत दिइरहेको खनालले सुनाउनुभयो।
एकपटक रोपेपछि दशकौंसम्म फलिरहने स्थानीय जातको अलैंचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको थियो । तर, रोग–कीरा संक्रमणले ९० प्रतिशतभन्दा बढी अलैंची सखाप भएपछि किसानको बगान करिब आधा दशक उजाड नै रहे । किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैंची लगाएका छ्न।
जिल्लाको जिर्मले गाउँमा पहिलोटक रोपिएको नयाँ अलैंचीले इलाममात्र होइन, अन्य जिल्लासमेत पिट्यो । किसानले मकैबारी, तरकारीबारी सबै मासेर अलैंची लगाए । जिर्मलेमा यसको बिरुवा बढी पाइने भएकाले यसको नाम नै ‘जिर्मले’ राखियो । तर, जिर्मलेमा अलि बढी समय टिकिरहेको यही अलैंची अन्य स्थानमा चाहिँ भरपर्दाे हुन सकेको छैन ।
सुरुमा अलैंची फस्टाएपछि किसानले अलैंची सहकारी नै गठन गरेका थिए । सहकारी गठन गरेपछि उनीहरूले विभिन्न निकायबाट प्राविधिक सहयोगसमेत लिएका थिए । माइमझुवा गाउँमा २०६८ असोजमा नेपालमै पहिलोपटक अलैंची सहकारी गठन भएको थियो ।
सहकारीले किसानका लागि नयाँ जातका अलैंची बिरुवा वितरण पनि गर्यो । अलैंची खेतीको प्राविधिक पक्ष हेरिरहेको फिक्कलस्थित अलैंची विकास केन्द्रका अनुुसार हावापानी र उचाई नमिलेकाले नयाँ जातको अलैंची मासिएको जनाएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैंची निकासी हुन्छ । चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैंची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैंची यहाँबाट निर्यात भएको भन्सारको तथ्यांक छ ।
अलैंची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ । नेपाल सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । कुल उत्पादनको ९४ प्रतिशत पूर्वीपहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर)मा हुन्छ ।