पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १ सय ६५ रनको लक्ष्य दिएको छ । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६४ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए । अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।