Friday, October 18, 2024

विपद्पछिको पुनर्निर्माण छिट्टै अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

Share

३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनर्व्यवस्थापनको काम अघि बढाउने बताउनुभएको छ ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज प्रधानमन्त्री निवास बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भोलि बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवाससँगै पुल निर्माणबारे आवश्यक निर्णय गरिने जानकारी गराउनुभयो । उहाँले बाढी र पहिरोका कारण काठमाण्डौ जोड्ने विभिन्न सडक अवरुद्ध भएकोमा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रूपमा सडक सञ्चालनमा आएको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनर्निर्माण र पुनर्व्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो ।

सम्वन्धित

अन्य समाचार