असार १५ विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा मुख्यमन्त्रीले जवाफ दिनेछन् ।
बिहिबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। आधा घण्टामा बैठक बस्न नसकेपछि साँझ ८ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो। तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सूचना निकालेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो।
नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
यस्तो छ अंक गणित
९३ सदस्यीय कोशी प्रदेश कार्कीलाई आफ्नो सरकार जोगाइ राख्न ४७ सांसदको समर्थन आवश्यक पर्छ। उनलाई नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन छ।
कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ सांसद गरी ४६ सांसदमा छन् भने प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट जनाउँदै जसपाका १ सांसदले तटस्थ बस्ने छ।