Thursday, November 14, 2024

को हुन् मेनुका जसले इन्डियन आइडलका दिग्गज निर्णायक रुवाइन्?

Share

काठमाडौँ :  भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १४औँ संस्करण जारी छ। आइडलको अडिसनमा नेपाली गायिका मेनुका पौडेल पनि पुगेकी छन्। अडिसनमा पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएर सबै दिग्गज निर्णायकलाई रुवाइन्।

मेनुकाले गीत गाउँदै गर्दा निर्णायक एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन्। उनको प्रस्तुतिलाई निर्णायक श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए। ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं। म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौँ,’ निर्णायक विशाल डिडलानीले भने, ‘श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ।’

श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन्। मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ। आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ। जसको कारण तिमी हौँ।’

अन्तिममा श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका। यही कारण मलाई मजा आयो। मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ।’ यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिए।२०५५ सालमा झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

सामान्य परिवारमा जेठी छोरीका रुपमा जन्मेकी उनको दृष्टिमा समस्या छ। बाबुआमाले उनको आँखाको उपचारका लागि प्रयास गरेपनि सफल भएन। अन्ततः ४ वर्षकी भएपछि मेनुकालाई बुवाले झापा गह्रामुनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखिदिए। जहाँ उनीजस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेका थिए। घरबाट एक घन्टाको दुरीमा रहेको यही होस्टलको चौघेरामा मेनुकाको बाल्यकाल बित्यो।

मेनुका पढाइमा जेहेन्दार थिइन्। सहयोगीले प्रश्न पढिदिन्थे, उनी मुखले जवाफ दिन्थिन् र सहयोगीले त्यसलाई कापीमा उतारिदिन्थे। चार वर्षको उमेरमा बाबुसँग होस्टेल छिर्दा नै मेनुकाले हार्मोनियमको गुञ्जन सुनेकी थिइन्।  त्यहाँ रहेका विद्यार्थीहरुलाई संगीत सिकाइँदो रहेछ। मेनुकालाई बिस्तारै संगीतले लठ्याउँदै लग्यो। उनी संगीतमै रमाउन थालिन्, यसमै आफूलाई भुलाउन थालिन्। ७ वर्षको उमेरमै उनले हार्मोनियम बजाउन सिकिन्।

मेनुकाले एसएलसी फर्स्ट डिभिजनमा पास गरिन्। आँखा देख्ने कैयन पढाईमा उनीभन्दा पछि परे। एसएलसी उत्तीर्ण भएसँगै आफूले १२ वर्ष बिताएको होस्टेलबाट उनी बिदा भइन्।

पछि काठमाडौँ आएर सिर्जन कलेज अफ फाइन आर्ट्समा भर्ना भइन्। यसअघि नै संगीतकार सुभाषचन्द्र ढुंगेलको अन्तर्वार्ता सुनिसकेकी उनले पछि उनलाई भेट गरिन्। यसले उनलाई नेपाली संगीतका साधकहरूसँग संगतको वातावरण बनाइदियो।

पछि रेडियो नेपालमा राष्ट्रिय गायन प्रतियोगितामा उनी प्रथम भएकी थिइन्। त्यसपछि २०७४ उनले भाग लिइन्, नेपाल आइडलमा। जहाँ उनी टप ११ सम्म पुगेर पब्लिक भोटका आधारमा आउट भइन्।

यो प्रतियोगिताले उनलाई देशभर चिनाएको थियो।  २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन्। एकपछि अर्को गर्दै उपलब्धिका सिँढी चढिरहेकी मेनकाको सांगीतिक यात्राले उडान लिइरहेको छ।

सम्वन्धित

अन्य समाचार